काठमाडौँ, २६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले लगानीकर्तालाई थप उत्प्रेरित र आकर्षण गर्न सरकारको तर्फबाट गर्नुपर्ने सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
उनले मुलुकमा दिगो पूर्वाधार निर्माणको आवश्यकता परिपूर्ति गर्न लगानी बोर्डमार्फत भइरहेका कार्य र उपलब्धिको प्रशंसा गर्दै ठूला र राष्ट्रिय महत्वका परियोजनालाई द्रुत गतिमा अगाडि बढाउन निर्देशनसमेत दिएका छन्। बुधबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले पेस गरेका आर्थिक वर्ष २०७८/०७९ को कार्यसम्पादन प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो भनेका हुन्। सोही क्रममा उनले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा आर्थिक तथा वित्तीय परिदृश्यहरू चुनौतीका रूपमा देखापरेको परिप्रेक्ष्यमा ठूला लगानी आकर्षण तथा परिचालन गर्न बोर्डबाट थप कार्य कुशलता प्रदर्शन गर्न निर्देशन दिए।
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष देउवासमक्ष लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले बुधबार गत आर्थिक वर्षको कार्यसम्पादन प्रतिवेदन पेस गरेका हुन्। प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतबीच २०७८ साल साउन ३२ गते आव २०७८/०७९ का लागि ४२ वटा क्रियाकलापमा समयसारिणीसहितको मापनयोग्य सूचकका आधारमा कार्यसम्पादन करार भएको थियो। लगानी बोर्डका चार प्रमुख रणनीतिक खम्बाहरू परियोजना विकास र व्यवस्थापन, लगानी प्रवर्द्धन, संस्थागत विकास, समन्वय सहकार्य र साझेदारीमा केन्द्रित रही भएको करारबमोजिम सम्पादन गरिएका कार्यहरूको प्रगति विवरण समेटिएको उक्त प्रतिवेदनमा तोकिएअनुसारका सूचकहरू पूरा भई शतप्रतिशत कार्य सम्पन्न भएको बोर्डले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्