राजनीति

सांसद बस्नेतद्वारा ‘द्वारिकापुरी दिव्यधाम’ निर्माणको लागि नगद सहयोग गर्ने घोषणा



भक्तपुर, २६ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले द्वारिकापुरी दिव्यधाम निर्माणको लागि एक १ लाख ११ हजार एक सय ११ रुपैंया सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

१० करोडको लागतमा सूर्यविनायक नगरपालिका वडा नंं ७ गुण्डुको पाथिभरा मन्दिर परिसरमा नेपाल मै पहिलो चारधाम मध्येको एक धाम श्री द्वारिकापुरी दिव्यधाम निर्माणका लागि शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले बुवा आमाको नाममा उक्त नगद सहयोग गर्ने घोषणा गर्नुभयो । अन्य कुराहरुमा समेत निरन्तर सहयोग गरिरहने प्रतिवद्धता जनाउँदै उहाँले विगतमा विकास र समृद्धिको साथ साथै आम नागरिकको पहुँचको हिसावले उक्त क्षेत्र पछाडि रहेको तर अहिले एमालेको नेतृत्व आएसँगै नेपालकै नमुनायोग्य स्थान बनेको उल्लेख गर्नुभयो । उक्त स्थानमा रहेको प्राकृतिक स्रोत, जंगल, पानीलगायतका कुराहरुको अत्याधिक उपयोग गर्नुपर्छ भन्ने मान्यता रहेको उहाँले बताउनुभयो ।

२४४ हेक्टर जमिनमा प्राणी उद्यान बनाउने नेपाल सरकारले निर्णय गरी डिपिआर तयार भएको उल्लेख गर्दै उहाँले नेपालकै नमुना प्राणी उद्यान बन्ने दावी गर्नुभयो । उक्त स्थान पर्यटकीय स्थलको रुपमा महत्वपूर्ण बन्ने उल्लेख गर्दै उहाँले आध्यात्मीक हिसावले समेत उक्त स्थानको वरपर पर्यटकीय स्थालको रुपमा रहेको बताउनुभयो । सामाजिक क्षेत्रमा सहयोग गर्नेहरुको मानविय भावनालाई उच्च कदर गर्दै उहाँले मानविय कार्यको साथमा धार्मिक र विकास तथा समृद्धको दौडमा निरन्तर लाग्न सम्पूर्ण जनसमुदायलाई आग्रह गर्नुभयो । आफ्नो तथा एमालेको जहिले पनि जनताको हितको पक्षमा रहेको उल्लेख गर्दै विकासमा राजनीतिक खेल हुनु नहुने बताउनुभयो ।

डोलेश्वरको छाना छाउनको लागि नगरपालिका र आफ्नो तर्फबाट दुई करोडको बजेट व्यवस्थापन गरेको स्मरण गर्दै उहाँले उक्त धाम निर्माणको लागि आफ्नो सांसद कोष नभएकाले नगरपालिकाको तर्फबाट र बाँकी प्रदेश तथा संघीय सरकारको तर्फबाट बजेट व्यवस्थापन गर्न आफ्नो तर्फबाट सहयोग हुने प्रतिवद्धता जनाउनुभयो । पूर्वीय संस्कृति, धर्म तथा सभ्यतालाई मिलाएर हिन्दु राज्य भन्दा पनि निश्चित पहिचना भएको राज्य बनाउनुपर्नेमा जोड दिँदै उहाँले उक्त कुरा गरेमा संसारभर नेपालको राम्रो पहिचना बन्ने दावी गर्नुभयो । कार्यक्रममा उपप्रमुख सरिता भट्टराई, वडा न. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, समाजसेवी तथा एमालेका नेता किरण थापा, वडा न. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत लगायतको उपस्थिती रहेको थियो ।