उपेन्द्र केसी
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस पटकको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने उद्द्योस गरे । उनको यो उद्द्योस उनको ह्रदयबाटै उठेको स्वतस्र्फूत वाणी भएको छ । कांग्रेसलाई जसरी भए पनि पहिलो पार्टी बनाउने रटान लगाउँदै हिड्नु कमरेड प्रचण्डको दिनचर्या रहेको छ । कांग्रेस पार्टीका सभापति एव प्रधानमन्त्री शेरवहादुर देउवलाई भन्दा पनि बढी कांग्रेसको चिन्ताले प्रचण्डलाई छोपेको छ । प्रचण्डको यस्तै हर्कतका कारण उनले नेतृत्व गरेको पार्टी निरन्तर ओरालो लाग्दैछ,त्यसैले पनि होला उनको मोह कांग्रेस पार्टी प्रति जागेको ।
अचम्म,कांग्रेस सभापति देउवाको वोलीबाट सुन्नु पर्ने कुरा हामीले प्रचण्डबाट सुन्नु परेको छ । कांग्रेसीजनहरु के भनेर खुशी हुन्छन,त्यो भन्नु पर्ने अवस्थामा उनी पुगेका हुन ? अर्थात,माओवादी केन्द्रको राजनीतिक ढुंगा एक्लै खियाएर पार लगाउन सकिदैन भन्ने अवस्थामा उनी पुगेका हुन ? या, आफ्नै खुट्टामा टिक्न र हिड्न नसक्ने अवस्थामा उनले माओवादी पार्टीलाई पु¥याएकै कारण अबका दिनमा उनले कांग्रेसको साहारा खोजेको हुन ? अथवा, राजनीतिक चतुर खेलाडीका रुपमा परिचित प्रचण्ड कांग्रेसलाई बोकेर समाजवादको कहिले नपुगिने बाटो हेर्देछन ?
विचार र सिद्धान्तका हिसाबले विपरीत दिशामा हिडेको कांग्रेसलाई पहिलो पार्टी बनाउने उनको यो अभियानलाई राम– राम भन्नु वाहेक हामीले त अर्को के भन्न सकिन्छ र ? कुनै एउटा पार्टीको प्रमुखले अर्को पार्टीलाई निर्वाचनमा पहिलो पार्टी बनाउने भनेर हिडेको सुन्दा नै अचम्म लाग्छ ।
तर, केही समययता देखी प्रचण्ड कांग्रेसलाई पहिलो पार्टी बनाउने भनेर कुर्लिरहेका छन, माओवादी कार्यकर्ताहरु प्रतिक्रियाविहीन चुपचाप सुनिरहेका छन् । कांग्रेससंगको अप्राकृतिक गठजोडको राजनीतिले कहिले सम्म माओवादी पार्टीलाई थेग्ला ? कमरेड प्रचण्डको यस्तै कार्यशैली र चरित्रका कारण माओवादी पार्टी क्रमश ओरालो लाग्दै आएको छ । कुनै बेलाको पहिलो र मुलुकको सशक्त माओवादी पार्टी आज एक्लै निर्वाचन उभिनै नसक्ने अवस्थामा पुगेको छ ।
निश्चिय पनि कुनै पनि राजनीतिक पार्टी आफ्नै मूल्य,मान्यता र सिद्धान्तमा चल्ने गर्छ । त्यही मूल्य–मान्यताको धरातलमा टेकेर दलको राजनीतिलाई अघि बढाउँछ । र, विचार समूह मिल्ने र हिड्ने बाटो एउटै भएका हरुसंग एकता र सहकार्य गर्दै अघि बढ्ने गर्छ । आफ्नो पार्टीको मूल्य,मान्यता र सिद्धान्त विपरीत हिड्ेर कुनै पनि पार्टीहरुले गन्तव्य भेट्दैनन ।
गन्तव्य भेट्न विचार,आस्था र सिद्धान्त मिल्ने पार्टीहरु संग सहकार्य र एकता गरेर मात्रै पुग्न सकिन्छ । र, त्यो नै प्राकृतिक बाटो हुनेछ । तर,यहाँ आस्था, विचार र सिद्धान्तलाई लात हान्दै प्रचण्ड देउवासंग छुट्नै नसक्ने गरी अहिले सम्म टासिएको सत्यलाई नर्कान सकिदैन् । सबैलाई थाह छ देउवा –प्रचण्डको सिद्धान्त र गनत्वयहीन यो गठजोड मुलुकको प्रगति, उन्नती र सम्वृद्धिका लागि हुँदै होइन । वितेको एक वर्षमा यो सरकारले सम्झन र भन्न लायक एउटै पनि काम गरको छैन । राज्य संचालनको कार्यशैलीबाट समाजको कुनै पनि तप्का र वर्ग सन्तुष्ट छैन ।
दैनिक रुपमा बढ्दै गएको बजार भाउँको ग्राफले आम जनताको दैनिकी कष्टकर बन्दै गएको छ । साँझ–विहानको छाक टाँर्न आममानिसलाई मुश्किल परिरकहेको छ । जनतामा सरकार प्रति चरम असन्तुष्टि र थेग्न नसक्ने आक्रोश बढ्दै गएको छ । आमरुपमा भन्नु पर्दा जनतामा सरकार प्रति निराशा बढ्दै गएको छ । तर, पनि प्रचण्डलाई यो गठबन्धन सरकार फेरी दोहोराउन कांग्रेसलाई पहिलो पार्टी बनाउनु छ । समग्रमा भन्ने हो भने एक थान मन्त्रीका लागि कांग्रेसलाई काँधमा बोक्नु प्रचण्डको दैनिकी बनेको छ । विहान उठेदेखी नसुतेसम्म कांग्रेसको पक्षमा वकालत गर्दै गीत गाउँनु नै हिजोआज उनका लागि महान क्रान्ति भएको छ ।
हिजो गाउँका जनतालाई समाजवादी क्रान्तिको सपना देखाएर कम्युनिष्ट पार्टीमा आवद्ध गरेको यो समयमा आएर कांग्रेसलाई काँधमा बोक्दै हिड्नका लागि मात्रै हो ? कांग्रेसले निर्वाचनमा छुट्टाएको केही सिट र एक थान मन्त्रीकै लागि माओवादी पार्टी बनाएको हो? इतिहासको कठिन मोडबाट अनेकन आरोह–अबरोह पार गर्दै आएको माओवादी पार्टी कांग्रेससंग हात थाप्नकै लागि मात्रै खडा भएको हो ? यो पार्टी निर्माणमा सहिद भएका हजारै– परिवारहरुलाई, कान्तिको सपना देख्दै आएका माओवादीका कार्यकर्ताहरुलाई प्रचण्डले जवाफ दिनु पर्छ कि पर्देन ? कांग्रेसको सेवामा समर्पित भएर वा कांग्रेसलाई पहिलो पार्टी बनाएर समाजवादी क्रान्तिको बेक्र थ्रो हुन्छ ? हिजो रोल्पा र रुकुमका विकट पहाड देखि दिल्ली र बनारसका साँघुरा –अन्ध्यारा गल्लीहरुमा भोक–भोकै असुरक्षित क्रान्ति खोज्दै हिडेको आजकै दिनका लागि हो कमरेड ?
त्यसोत अबको निर्वाचनमा बन्ने गठबन्धनमा पनि अन्य राजनीतिक पार्टीहरु कांग्रेसको पिछुवा मात्रै बन्ने पक्का छ । गएको स्थानीय निकायको निर्वाचनमा भन्दा पनि बढी यस पटक गठबन्धनका अन्य राजनीतिक दलहरुले कांग्रेसबाट धोका पाउने छन् । कांग्रेसले सीट बाडफाट सम्बन्धी उसको पार्टी छलफल र बैठकबाट पनि के निष्कर्ष निकाल्न सकिन्छ भने कांग्रेसले अन्य राजनीतिक पार्टीहरुलाई निर्वाचन जित्नका लागि सहयोगीका रुपमा मात्रै उपयोग गर्ने छ । कांग्रेसका नेताहरुले ३० हजार भोट ३ हजार भोटमा खसाउन नसकिने जुन उठाएका छन,त्यसले पनि सिट बाडफाँडमा अन्य राजनीतिक पार्टीहरु पक्कै पनि अपमानित हुनेछन । र,यो निर्वाचनमा पनि कांग्रेसले गठबन्धनका अन्य राजनीतिक दलहहरुलाई आफू जित्ने हतियारका रुपमा मात्रै प्रयोग गर्ने छन ।










प्रतिक्रिया दिनुहोस्