सम्पादकीय

राजधानीमै ‘लाइसेन्स’ बिना चलाएको ट्रिपरको ठक्करले उपसचिवको मृत्यु



काठमाडौं, ७ जेठ । काठमाडौंको दुर्घटनाग्रस्त क्षेत्रका रुपमा लिइने गोंगबु क्षेत्रमा शनिबार मिनि ट्रिपरको ठक्करबाट पैदलयात्री उपसचिवको मृत्यु भएको छ । मृत्यु हुनेमा उपसचिव ४६ वर्षीय ऋषिराम पण्डित रहेका छन् ।

श्रीमतीसँगैं मर्निङवाकमा निस्किएका पण्डितलाई टोखा नगरपालिका ८, बानियाँटारमा बा २ ख ५७३० नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । गोंगबुबाट टोखातर्फ गइरहेको मिनिट्रिपरले बिहान पाँच बजे सडक पेटीमा हिडिरहेका पण्डितलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनापछि त्यहाँको अवस्था केही समय तनावग्रस्त बनेको थियो । तनहुँ ब्यास नगरपालिका वडा नम्बर २ का स्थायी बासिन्दा पण्डित काठमाडौंको बानियाँटारमा परिवारसहित बस्दै आएका थिए । दुर्घटनामा सामान्य घाइते भएकी पण्डित पत्नीको उपचार भइरहेको छ। ‘घटनास्थलमै पण्डितको मृत्यु भएको हो । उहाँकी पत्नीको उपचार भइरहेको छ । उनको अवस्था सामान्य छ’, महाराजगञ्ज प्रहरी वृतका डीएसपी गोविन्द पुरीले भन्नुभयो ।

पैदलयात्रीलाई ठक्कर दिने मिनिट्रकका चालक नुवाकोटका २५ वर्षीय लक्ष्मण सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सिटौलाको सवारीचालक अनुमती पत्र समेत नभएको जनाएको छ । मिनिट्रकका धनी भने सम्पर्कमा आएका छैनन् । अन्नपुर्ण पोष्टमा समाचार छ ।