Banner News

श्रम रहेसम्म माक्र्सबादको औचित्य समाप्त नहुने



काठमाडौँ, ७ जेठ । नेकपा एमाले का उपमहासचिव घनश्याम भुसालले संसारको सबैभन्दा समुन्नत साहित्य समाजवादी साहित्य भएको र यसमा माक्र्सवादको प्रभाव ज्यादै विस्तृत, व्यापक र सर्वव्यापी रहेको बताए ।

शनिबार भएको साहित्य सन्ध्याको नियमित मासिक ३७३ औँ शृङ्खलामा द्विशताब्दिऔँ माक्र्स सन् १८१८–१८८३ जन्मजयन्ती समारोह समितिका संयोजक भुसालले माक्र्सवादले समाजका सबै खाले विचार र विशेषज्ञतालाई जोड्ने काम गर्ने बतादै भने जबसम्म श्रम रहिरहन्छ तबसम्म माक्र्सवादको औचित्य कहिल्यै समाप्त हुँदैन, यो संसारमै सर्वव्यापी भइरहन्छ । नेपालमा माक्र्सको द्विशताब्दी समारोह समिति गठन गरी विचारविमर्श गरिँदैछ ।
गोष्ठीमा राम विनय, अतृप्त पाण्डेय, कणाद महर्षि, ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, गोपाल नेपाल, नवराज श्रेष्ठ, रचना दाहाल, बलराम विष्ट, आनन्दराम पौडेल, पुण्य गौतम ‘विश्वास’, कुसुम शर्मा, नारायण निराशी, रूपक अलङ्कार र डा खेम दाहालले आआफ्ना कविता र गजल वाचन गरेका थिए ।
वाचित कवितामाथि टिप्पणी गर्दै समालोचक विष्णुप्रसाद ज्ञवालीले विचारसहितका र विचाररहित गरी दुई खालका कविता हुने बताउँदै विचाररहित कविताले कहिलेकाहीँ स्रोतामाझ प्रभाव पार्न त सक्छन् तर रूपान्तरणको सन्देश भने दिन सक्दैनन् भन्नुभयो । कविले बाँचेको युगचेतना, वैयक्तिकता, युगबोध र भविष्यबोध र बोधगम्यता कवितामा आउनु जरुरी रहेकामा उनले जोड दिए ।
नियात्राकार पोषरमण चापागाईँले साहित्य सन्ध्यालाई प्राप्त नियात्रामध्येबाट एउटा उत्कृष्टलाई हरेक महिना रु एक हजार राशि पुरस्कार दिइने र बिस्तारै अक्षय कोषको समेत व्यवस्था गरिने जानकारी दिए।