काठमाडौँ, ३ भदौ । हिन्दुराष्ट्रको पक्षमा जनमत बढाउन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चन्दा संकलन अभियान सुरु गरेको छ ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखैमा थालिएको यो अभियानलाई राप्रपाले ‘कोष वृद्धि अभियान’ भनेको छ । काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अभियानको घोषणा गरे । आर्थिक स्रोत व्यवस्थापनको जिम्मा महामन्त्री डा. धवल शमशेर राणालाई दिइएको छ।
वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन कोष वृद्धि अभियान थालिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । आर्थिक संकलन अभियानका लागि राप्रपाले गरिमा विकास बैंकमा बैंक खाता समेत खोलेको छ । बैंकको खातामा सिधै वा डिजिटल पेमेन्ट सिस्टम फोन पेबाट पनि रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता श्रेष्ठले बताए ।










प्रतिक्रिया दिनुहोस्