इलाम, १६ माघ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले निर्वाचन मिति घोषणा गर्न नसके नेकपा माओवादी केन्द्रसरकारमा बसिरहनुको कुनै औचित्य नहुने वताए।
संविधान कार्यन्वयनका लागि जनपरिचालनअन्तर्गत चार महिने अभियानको क्रममा इलामको समालबुङ गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता खनालले ‘आगामी २०७४ माघ ७ गतेसम्ममा तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ, यदि त्यसका लागि अहिलेनै निर्वाचन मिति घोषणा हुँदैन भने प्रचण्ड सरकारमा बस्नुको कुनै अर्थ छैन,’ भन्दै नेता खनालले नेपाली काँग्रेस र माओवादी केन्द्र डराएका कारण निर्वाचन मिति घोषणा गर्न नसकेको आरोप लगाए ।
अङ्गीकृतलाई प्रमुख पद दिने र हिन्दी भाषालाई राष्ट्रभाषा बनाउन विदेशीको इशारामा संविधान संशोधनको कुरा आएको बताउँदै नेता खनालले विदेशीलाई खुसी पार्ने संविधान संशोधन प्रस्ताव कुनैपनि हालतमा पास हुन नदिने बताए।
निर्वाचन मिति घोषणा नगरे सो घोषणा गर्न एमालेले देशव्यापी रूपमा आन्दोलन सुरू गर्ने बताउँदै नेता खनालले राष्ट्रलाई कमजोर बनाउने कुनैपनि काम नगर्न सरकारलाई आग्रह समेत गरे ।
अबको निर्वाचनबाट एमाले मुलुककै पहिलो पार्टी हुने दाबी गर्दै आफ्नो पार्टीले गाउँ–गाउँमा अभियान सञ्चालन जारी राखेको वताए । सोही अवसरमा माओवादी, काँग्रेसलगायत विभिन्न पार्टी परित्याग गरी आएका सयजनाभन्दा बढीलाई नेता खनालले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्