काठमाडौं, ८ जेठ । पोखरा महानगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी नै रहँदा महानगरपालिका भने अहिले जनप्रतिनिधि भित्राउन आतुर देखिएको छ । महानगरपालिकाले अब आउने निर्वाचित मेयर, उपमेयर र वडा अध्यक्षका लागि कार्यकक्षको व्यवस्थापनसँगै कार्यालय रंगरोगन गरेर सजाउन थालेको छ ।
महानगरका प्रमुख कार्यकारी अधिकृत दीर्घनारायण पौडेलका अनुसार, मेयरका लागि एटेज रुमसहित गोप्य बैठक कोठासहितको कार्यकक्ष तयार गरिएको छ । रंगरोगन र सजावट समेत भइसकेको यो कार्यकक्षामा यसअघि प्रमुख कार्यकारी अधिकृत सञ्चालन गर्दथे ।
यस्तै, उपमेयरका लागि एटेज रुम तयार पारिँदैछ । कार्यालयका सबै हाताभित्र रंगरोगनसहित सजावट र नयाँ फर्निचरका लागि मात्र ५ लाख बढी खर्च हुने अनुमान गरिएको प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिए ।
पोखरा महानगरमा २०३३ सालमा बनेको कार्यालय भवन नै अहिलेसम्म संचालनमा छ । महानगरमा हाल ४ सय बढी कर्मचारी कार्यरत छन् । जनप्रतिनिधि आएपछि प्रशासनिक कार्यका लागि अर्को कार्यालय भवन बनाउने सोचमा महानगर छ । अहिले संचालनमा रहेको न्युरोड स्थित कार्यालयलाई व्यवसायिक भवनमा परिणत गर्ने सोच रहेपनि नयाँ आउने जनप्रतिनिधीको योजना अनुसार नै अघि बढ्ने पौडेलले बताए ।
आगामी ५० बर्षका लागि महानगरभित्र रहेको शान्ति वन नजिकै वा नगर प्रशिक्षण केन्द्रलाई प्रशासनिक भवन बनाउनेबारे पनि विमर्श भइरहेको जनाएको छ । ५ तले प्रशासनिक भवनमा अन्डरग्राउण्ड पार्किङसहितको सुविधा सम्पन्न भवन बनाउने सोच रहेको महानगरका इञ्जिनियर सुरेन्द्र पौडेलले बताए ।
पोखरालाई स्मार्ट सिटीको रुपमा विकास गर्न जनप्रतिनिधीले निर्वाचन र अन्य समयमा गरेका बाचा अनुसार नै प्रशासकिन भवन र विकास योजना बनाउने समेत बताइएको छ । यसअघिको भन्दा धेरै अधिकार रहने महानगरपालिकाका जनप्रतिनिधीले ल्याउने योजना अनुसार नै सबै काम अघि बढाउने कर्मचारीहरु बताउँछन्।
जनप्रतिनिधीलाई स्वागत गर्न हामी आतुर छौँ, महानगरका प्रमुख कार्यकारी अधिकृत पौडेलले भने, सोही अनुसार तयारी गरिरहेका छौँ । झण्डै १९ बर्षपछि भएको स्थानीय निर्वाचन पश्चात पोखरा महानगरपालिकाको भने हाल मतगणना जारी छ । मत परिणाम आउँदासम्म जनप्रतिनिधीका लागि आवश्यक सबै व्ययवस्था पुरा गर्नेगरी तयारी गरिएको समेत प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए ।
यस्तै, महानगरको मेयरका लागि पुरानो गाडी मर्मत सम्भार गरिएको छ । मेयरका लागि महानगरको ग १ झ २२३ नम्बरको गाडीको व्यवस्था मिलाइएको छ भने उपमेयरले नगरपालिकामा रहेका अन्य गाडीमध्ये रोजेर चड्न सक्ने व्यवस्था गरिएको छ ।
अन्नपुर्णमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्