अर्थ

नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटीटीएच



काठमाडौँ, ७ भदौ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पीएसटीएन टू एफटीटीएच पूर्ण माइग्रेसन सफल भएको छ भने करादीबजारमा एफटीटीएच सेवा सुचारु भएको छ ।

जस्ले गर्दा अब करादीबजारका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टेलिफोन, टेलिभिजन तथा मोबाइल डाटा प्रयोग गर्न सक्नेछन् । पीएसटीएन टू एफटीटीएच पूर्ण माइग्रेसन हुँदा आफुले इच्छाएको इन्टरनेट स्पिड सहजै प्राप्त गर्नाका साथै प्रविधिमैत्री समाज निर्माणमा सहयोग पुगेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताए ।

उनका अनुसार नेपाल टेलिकमले ग्रामीण भेगको दुरदराजदेखि सहरसम्मकै सेवामा कुनै गुनासो नआउने गरी उपभोक्तालाई प्रविधिसँग नजिक बनाउने नीति लिइएको छ । गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराइले नेपाल टेलिकमले प्रदान गरेको सेवाले नगरबासी सन्तुष्ट रहेको जानकारी दिँदै एफटीटीएच पूर्ण माइग्रेसनले सहरी सौन्दर्यतामा समेत सहयोग पुग्ने बताए ।