काठमाडौं, ९ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा कांग्रेसले एकसय तह जित्नु अचम्म भएको बताएका छन । भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेको तर्फबाट निर्वाचित पार्टीका उम्मेदवारहरुको विजय र्यालीपछि भएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै सिद्धान्त नभएको कांग्रेसले यत्रो सीट ल्याउँदा आफू अचम्मित भएको बताए ।
‘कुनै सिद्धान्त नभएको कांग्रेसले स्थानीय तहको निर्वाचनमा कसरी यत्तिका सीट ल्यायो, म आफै अचम्मित भएको छु’, उहाँले भन्नुभयो। अध्यक्ष ओलीले निर्वाचन ताका बुथ कब्जा गरेको र अहिले एमाले जित्ने महानगर र नगरपालिकामा बखेडा झिकिरहेको आरोपसमेत लगाए ।
‘एमालेले जित्ने निश्चित भएपछि पोखरा महानगरपालिका र अन्य नगरपालिकामा कांग्रेस र माओवादीले एमालेविरुद्ध भ्रम छर्ने काम गरेका छन्’, उनले भने, ‘कांग्रेस र माओवादीले जुनसुकै बल गरे पनि दोस्रो चरणमा निर्वाचनमा पनि एमालेले बहुमतसहित सानदार जीत निकाल्नेछ।’
एमालेको नेतृत्वमा मात्रै मुलुकको विकास र समृद्धि सम्भव भएको अध्यक्ष ओलीको दावी थियो । ‘एमालेले दोस्रो चरणको निर्वाचनको लागि उम्मेदवारहरु तोकिसकेको छ’, उनले थपे, ‘ती उम्मेदवारहरुले पनि राम्रो मत ल्याएर जीत हासिल गर्नेछन।’
अध्यक्ष ओलीले यसपाली सूर्यविनायक नगरपालिका वडा नं २ मा मतदान गरेका थिए। तर उनले मतदान गरेको वडामा नेपाली कांग्रेसका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन्।
कार्यक्रममा सूर्यविनायक नपाका नवनिर्वाचित मेयर वासुदेव थापा र उपमेयर जूना बस्नेत तथा वडा नं ५ का अध्यक्ष राजकुमार जोशीले निर्वाचन प्रचारप्रसारका क्रममा नगरवासीसामु गरिएको प्रतिबद्धताअनुसार आफूहरुले काम गर्ने दृढता व्यक्त गरे।
उहाँहरुले सूर्यविनायकलाई नमुना नगरको रुपमा विकास गर्ने जिम्मेवारी आफूहरुको काँधमा आएकोसमेत बताए। उक्त आमसभाअघि सूर्यविनायकस्थित नेकपा एमालेको जिल्ला कार्यालयबाट विजय र्याली सुरु भएको थियो। सांस्कृतिक बाजागाजासहितको उक्त र्यालीले सूर्यविनायक नगर परिक्रमा गरेको थियो। अन्नपुर्णमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्