समाचार

आज ऋषि पञ्चमी मनाइँदै



काठमाडौँ, १६ भदौ । आज भाद्र शुक्ल पञ्चमी, ऋषि पञ्चमी मनाइँदैछ ।

नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँदैछन् ।

महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।

रजस्वलाका समयमा कुनै त्रुटि भएको भए ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन छ ।

आज काठमाडौँको टेकुमा रहेको सप्तऋषिको मन्दिरसहिर देशभरको ऋषि मन्दिरमा आज भक्तजनको भीड लाग्छ । ऋषिको पूजासँगै यसपालिको तीज सकिन्छ ।