समाचार

मन्त्रीसँग विवाद गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्ड पाँच दिन थुनामा



काठमाडौँ, २० भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री जीवनराम श्रेष्ठसँग विवाद गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्डलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौले ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

जिल्ला प्रशासनले हिजो छायाँ सेन्टरका सुरक्षा गार्ड शेरजङ्ग गुरुङलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । क्यानडा जानका लागि श्रीमतीको बायोमेट्रिक गराउन गएको शुक्रवार ठमेलमा रहेको छायाँ सेन्टरमा पुगेका मन्त्रीलाई सुरक्षा गार्ड गुरुङले लाइनमा बस्न आग्रह ग्रेक्का थिए ।

मन्त्री आउने पूर्व जानकारी नभएको भन्दै सुरक्षागार्ड गुरुङले अरु सेवाग्राही जस्तै उनले पनि लाइनमा बस्न आग्रह गरेपछि विवाद भएको थियो । त्यसपछि मन्त्रीका पीएसओ, मन्त्री र सुरक्षा गार्डको बीचमा धकेलाधकेल भएपछि प्रहरीले गुरुङलाई शुक्रवार नै पक्राउ गरेको थियो । सुरक्षा गार्डलाई प्रहरी वृत दरबारमार्गमा राखेर मुद्दा चलाइएको छ ।