Banner News

माओवादीको आन्तरिक कहल क्रान्तिकारीको घोषणा सभामा छताछुल्ल



काठमाडौ,२२ भदौ । नेकपा माओवादी केन्द्र भित्रको आन्तरिक कलह अब खुलेरै बाहिर आउन थालेको छ । प्रायः भित्रभित्रै मिलाउने गरिएको आन्तरिक विवाद बुधबार भने मञ्चमै छताछुल्ल भएको हो ।

बुधबार काठमाडौंमा अनेरास्ववियु क्रान्तिकारीद्वारा ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रममा यस्तो विवाद छताछुल्ल भएको थियो । कार्यक्रममा बोल्ने क्रममा जनार्दन शर्माले आफू उपमहासचिवको रूपमा नभई संगठन विभागको प्रमुखकारूपमा उपस्थित भएको बताउनु भएको थियो ।

यसरी केहीअघि माओवादीको पदाधिकारी टुंगो लगाउँदा जनार्दको दावी महासचिवमा थियो तर, प्रचण्डले देव गुरुङलाई महासचिव बनाएर जनार्दनलगायतलाई उपमहासचिव बनाउनुभएको थियो । यसरी आफू उपमहासचिवको रूपमा नभई संगठन विभागको प्रमुखको रूपमा उपस्थित भएको बताएर जनार्दनले प्रचण्डकै अघिल्तिर उनलाई घुर्की लगाउनुभएको हो । जवाफमा प्रचण्डले ‘तपाईं मैले नै हुर्काएको व्यक्ति हुँ भन्ने नबिर्सनुस्’ भन्दै चेतावनी दिनु भएको थियो ।

माओवादी केन्द्रमा जनार्दन र वर्षमान पुन दुवै महासचिवका दाबेदार हुनुहुन्थ्यो । तर, प्रचण्डले यही भदौ ४ गते देव गुरुङलाई महासचिव बनाउनुभएको थियो । प्रचण्डले जनार्दन र वर्षमानसहित गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, पम्फा भुसाल, शक्ति बस्नेत र मात्रिका यादवलाई उपमहासचिव तोक्नु भएको थियो । अध्यक्षले लिएको निर्णयमा त्यस बेलै फरक मत राख्नुभएका जनार्दनले पद नै अस्वीकार गर्नु भएको हो ।

‘म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरूलाई जानकारी गराउन चाहन्छु,’ जनार्दनले कार्यक्रममा भन्नुभएको थियो , ‘पार्टीमा ६ जना उपमहासचिव छन् । म यहाँ उपमहासचिव पदको हैसियतमा सम्बोधन गर्न आएको होइन ।’

माओवादी केन्द्रमा संगठन विभागको नेतृत्वमा महासचिव नै हुने अभ्यास छ । कार्यक्रममा जनार्दनले आफू अध्यक्ष प्रचण्डको सबैभन्दा कडा आलोचक र सबैभन्दा ठूलो रक्षक पनि भएको बताउनु भएको थियो । त्यही प्रसंगमा प्रचण्डले जनार्दनलाई जवाफ समेत दिदैं धरातल नभुल्न चेतावनी दिनुभएको थियो ।