अर्थ

एसईईमा उत्कृष्ट छात्र–छात्रालाई एक लाख पुरस्कार



खोटाङ, २४ भदौ । जिल्लाको केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर एसईई उत्तीर्ण गर्ने छात्र–छात्रालाई रु एक/एक लाख पुरस्कार प्रदान गरेको छ । विसं २०७८ मा सञ्चालित एसइई परीक्षामा सबैभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण हुने दुई जनालाई पुरस्कृत गरिएको हो ।

थर्पुडाँडा मावि सप्तेश्वरका छात्र रेडस्टार राई र पृथ्वी मावि बाक्सिलाकी छात्रा युनिसा राईलाई जनही रु एक लाख पुरस्कार प्रदान गरिएको हो । उत्कृष्ट छात्र–छात्रालाई ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा बिहीबार गाउँपालिका प्रमुख समिर राई र उपप्रमुख गुरुराज राईले संयुक्तरूपमा पुरस्कार तथा सम्मानपत्र वितरण गरे । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्येबाट उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्र–छात्रालाई पुरस्कार प्रदान गरिएको हो ।केपिलासगढी गाउँपालिकाले चालु आवदेखि गाउँपालिकाका दुई विद्यार्थीलाई प्राविधिक विषय अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने तयारी गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार १८ महिने प्राविधिक शिक्षाको कोर्षका लागि छात्रबृत्ति प्रदान गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख राईले जानकारी दिए ।

आवेदन आह्वान गर्ने र दुई विद्यार्थीलाई छनोट गरेर प्राविधिक अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । यसैबीच दिप्रुङ चुइचुम्मा गाउँपालिकाले उत्कृट अङ्क ल्याएर एसईई उत्तीर्ण गर्ने एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा बिहीबार गाउँपालिकाको कार्यालय याङ्सोलाटारमा आयोजित कार्यक्रममा गाउँपालिका प्रमुख लोकेन्द्र राईले एसईईका उत्कृष्ट एक विद्यार्थीलाई विज्ञान विषयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका हुन् ।

गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्येबाट एसईईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने एक विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको गाउँपालिका प्रमुख राईले बताए । गाउँपालिकामा डाक्टर र इञ्जीनियर उत्पादन गर्ने लक्ष्यका साथ विज्ञान विषयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरिएको उनको भनाइ छ । रासस