विचार/ब्लग

मान खोज्दै माधब नेपालको वितेका एक वर्ष



उपेन्द्र केसी

नेकपा एमालेमा रहँदा अपमान भएको सार्वजनिक खूलासा गर्दै माधव नेपालले पार्टी छोडेका थिए ।उनले एमाले छाडेको दिन गिन्तीका हिसाबले एक वर्ष वितेछ । वितेका एक वर्षमा नयाँ खोलेको पार्टी निर्माण गर्न उनी निकै खटिए । निकै मिहेनत गरे । नयाँ खोलेको एकिकृत समाजवादी पार्टीलाई पार्टी जस्तो बनाउन दिनरात एक नभनि लागिरहे । तर, उनले खोलेको पार्टीमा यसबीच कार्यकर्ता–नेताहरु आउने होइन, जाने धेरै भए । उनको पार्टीबाट एमालेमा फर्किने यही क्रम जारीरहेने हो भने, उनी सेना विनाको सेनापति बनेको देख्न धेरै समय कुर्नु पर्देन ।

एक वर्ष अघि कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन उनले किङमेकरको भूमिका खेलेका थिए । त्यतिबेला प्रधानमन्त्री निवास वालुवाटारमा देउवाले उनलाई माओवादीका अध्यक्ष प्रचण्डलाई भन्दा बढी महत्व दिन्र्थे । तर, आज दिन फेरिएको छ । न वालुवाटारमा प्रचण्डको भन्दा बढी उनको मानसम्मान नै छ । न त उनका कुरामा देउवालाई हिजोको जस्तो दिलचस्वी नै छ । बरु उल्टै एकाध सीट बढी पाउन वालुवाटारको बैठकमा उनले गरेको गन–गनले गठबन्धनका नेताहरुलाई नै दिक्क पारेको छ । माधब नेपाल निकै लामो समयसम्म नेकपा एमालेको मूख्य नेताको रुपमा रहिरहे । उनी १५ वर्षसम्म एमालेको महासचिव बने । अर्थात उनी देशकै प्रमुख पार्टीको प्रमुख नेता बनिरहे । त्यस्तो सौभाग्य विरलै नेताहरुलाई मात्रै प्राप्त हुन्छ । यसो भनूँ लामो समयसम्म उनले पार्टीमा एकछत्र शासन चलाइरहे । त्यो समय एमालेको संगठनमा पार्टी महासचिव भनेको निकै शक्तिशाली पद थियो । देशकै राजनीतिक पार्टीहरुमा शक्तिको इन्ज्वाई गर्ने औलामा गन्न सकिने नेताहरु मध्येमा नेपाल पहिलो नंम्बरमा पर्थे ।

त्यसोत, राजनीतिमा जे पनि हुन्छ भन्ने मान्यता पनि नेता नेपालमा लागू भएको देखिन्छ । असम्भव जस्तो लाग्ने ०६४ सालको संविधानसभाको निर्वाचनमा हार व्यहोरेका नेपाल देशकै प्रधानमन्त्री भए । जवकी उनले नेतृत्व गरेको पार्टी नेकपा एमाले तेस्रो स्थानमा झरेको थियो । र, उनले नैतिकताको आधारमा पार्टी महासचिवबाट समेत राजीनामा दिएका थिए ।
इतिहासको त्यो छेउमा सिगो कांग्रेसलाई टक्कर दिने उनी अहिले त्यही कांग्रेससंग एकाधसीटको वागेर्निङमा दिन विताइरहेका छन । गठबन्धनको सीट वाँडफाँडको क्रममा हामी उब्रिएको खाने खोइन,भनेर कांग्रेससंग घुक्रि लगाईरहेका छन् । पछिल्लो समय उनको हैसियत राम्रैसंग बुझेका कांग्रेस –माओवादीले उनलाई राज्य संचालनमा कति पनि भाउ दिएका छैनन । गठबन्धनको सरकार संचालनमा कांग्रेस सभापति एंव प्रधाानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड दुई जनामात्रै हावी भएका छन । नेता नेपाल सरकार संचालनमा पनि सहयोगी जस्तो मात्रै देखिएका छन । उनकै शब्दमा २३ सीटे कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन आफ्नै पार्टीमा घन बजारेका उनी भित्रबाट देउवासंग पनि सन्तुष्ट छैनन् । सबैलाई थाह छ गठबन्धनमा उनको हैसियत लिने होइन, अब दिएको थाप्ने मात्रै हो । उनले भने जस्तो उनी निर्वाचनमा एक्लै लड्ने सार्मथ्य राख्दैनन् ।

कांग्रेसले गठबन्धनको सीट वाँडफाडमा एकोहोरो पेल्न थालेपछि उनी कांग्रेसको विरुद्ध पछिल्लो समय अलि चर्के बोल्न थालेका छन । २३ सीटे काग्रेसले धेरै फुर्ति लाए,गठबन्धन टुट्ने सम्मका चेतावनी दिएका छन । कांग्रेसले आफूहरुलाई उब्रिएको रहलपहल खाने जस्तो गरेर हेपेको भन्दै आएका छन । कांग्रेस नसच्निे हो भने आफहरु एक्लै निर्वाचनमा जाने सुनाउँदै आएका छन । कांग्रेसलाई उसले पहिले जितेको २३ सीटको तेव्रर अर्थात ६९ सीट भन्दा एक सीट पनि बढी विकल्प छैन । एक्लै जाँदा रौतहट १ वाहेक अन्त निर्वाचन जित्ने सम्भावना नै छैन । उनी यतिबेला आफ्नो राजनीतिक जीवन यात्राकै सकसपूर्ण मोडमा उँभिएका छन् । उनको गठबन्धनलाई लल्कारेर एक्लै निर्वाचनमा जान सक्ने अवस्था नै छैन । जति कराए पनि चुपचाप गठबन्धनको गीत गाउँदै उनीहरुसंगै निर्वाचनमा जानुको विकल्प छैन ।

विधि,पद्धति र प्रकियाका चर्का कुरा गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीसंग सिगौरी खेलेका उनले, अहिले विधि र पद्धतिका कुरा बोल्न छाडेका छन् । कुनै बलियो तर्क र आधार बिना नै पार्टीको तर्फबाट सरकारमा गएकाहरुलाई पालै–पालो मन्त्री बनाउने नेतृत्वदायी भूमिका खेलिरहेका छन् ।
पार्टीभित्रको असन्तुष्टिलाई रोक्न उनले पदको लालीपप देखाए पनि पछिल्लो समय थेग्नै नसक्ने गरी नेकपा एसमा पहिरो गैराखेको छ । समाजवादीबाट एमालेमा फर्किने यही क्रम निर्वाचनसम्म जारी रहने हो भने नेता नेपाल सिपाई विनाको सेनापति बन्ने निश्चित छ । उनको उद्दे निर्वाचन लड्ने भनिन्छ कल्पना समेत गर्न सक्दैनन् ।
कांग्रेसलाई वोकेर कम्युनिष्ट पार्टी बलियो हुन्छ भन्दै कुर्तक गर्दै हिडेका उनले अहिले सम्म पार्टी फुटको औचित्व सावित गर्न सकेका छैनन । पार्टी फुटको औचत्य सावित गर्न नसकेकै कारण उनले नेतृत्व गरेका पार्टीका नेता–कार्यकर्ताहरु तीव्र वेगका साथ एमाले फर्किन थालेका छन् । उनले पार्टी अन्तत माओवादीमा लगरे विसाउन लागेको निष्कर्षका साथ पछिल्लो समय देशैभरिबाट नेकपा एसका नेता–कार्यकमर्ताहरु एमालेमा फर्किरहेका छन् ।

गएको स्थानीय निर्वाचनमा नेता नेपालको पार्टीलाई कांग्रेस–माओवादीले वेवास्ता गरेकै हो । निर्वाचन लगतै त्यो अरुले भनेको होइन, माधब नेपालहरुले नै भनेका हुन । तर, अहिले फेरी पनि हिजो कांग्रेस–माओवादीले गरेको अपमान बिर्सिदै उनीहरु संगै गठबन्धनमा बाँधिने छन् । र, निर्वाचनमा कांग्रेसको चारतारे झण्डा उचाल्दै उनी कम्युनिष्ट विरुद्ध खनिनेछन ।