काठमाडौं, ११ जेठ । निर्वाचन आयोगले सरकारद्वारा थप भएका २२ वटा तहमा जेठ ३१ गते निर्वाचन गर्न नसक्ने स्पष्ट गरेपछि ती स्थानमा तेस्रो चरणमा निर्वाचनको सम्भावनाबारे राजनीतिक वृत्तमा छलफल सुरु भएको छ ।
‘जुन जुन ठाउँमा थप भएका छन्, त्यहाँ तेस्रो चरण, बाँकीमा दोस्रो चरणबारे पनि कुराकानी सुरु भएको छ,’ कांग्रेसका एक नेताले भने, ‘अहिले नै निर्णय त भइसकेको छैन तर यो विकल्पमा छलफल सुरु भएको छ ।’ एमालेका मधेसबाट निर्वाचित एक सांसदले पनि तेस्रो चरणबारे गाइँगुइँ हल्ला सुनेको बताए ।
पूर्वनिर्धारित जेठ ३१ गतेको स्थानीय तह दोस्रो चरणको निर्वाचन पर सार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको आग्रह अस्वीकार गर्दै निर्वाचन आयोगले दोस्रो चरणमा पहिले नै तय भएका ४ सय ६१ तहमा मात्र चुनाव गर्न सकिने स्पष्ट गरेको हो । पदबाट राजीनामा दिनुअघि आयोगका पदाधिकारीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले दोस्रो चरणको निर्वाचन पर सार्नेबारे धारणा लिएका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको समेत उपस्थितिमा भएको छलफलमा प्रचण्डले मधेसकेन्द्रित दललाई देखाएर चुनाव पर सार्न आग्रह गरेका थिए ।
‘हामीले त ३१ गतेका लागि सबै तयारी गरिसक्यौं, निर्वाचन पर सार्ने कुरा सोच्न सक्दैनौं भन्ने जवाफ आयोगले दियो,’ छलफलमा सहभागी एक आयुक्तले भने । प्रधानमन्त्री प्रचण्डले ‘तराई मधेसका दललगायत सबै पक्ष चुनावमा आउँदै छन्, के गर्न सकिएला’ भन्दै चुनाव सार्न आग्रह गरेको उनले जानकारी दिए ।
‘प्रधानमन्त्रीज्यूबाट निर्वाचनका लागि राजनीतिक सहमति खोज्ने प्रयास भएको हुँदा स्थानीय तहको दोस्रो चरण निर्वाचनका उपाय र विकल्पबारे सुझाव दिन आयोगसँग आग्रह गर्नुभएको थियो’, आयोग प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘प्रमुख आयुक्तज्यूले दोस्रो चरण निर्वाचनको तिथिमितिको उपाय र सम्भावनाको विकल्प नखोजी ०७४ जेठ ३१ गते निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको जानकारी गराए ।’ अन्नपूर्ण पोस्टमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्