राजनीति

माओवादीले टुंग्यायो समानुपातिक उम्मेदवार



काठमाडौँ, ३ असोज । नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक प्रणालीतर्फका उम्मेदवार टुंगो लगाएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार उम्मेदवारको बन्दसूची तयार भइसकेको छ । त्यसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्न मात्रै बाँकी छ । समानुपातिक उम्मेदवारको सूची टुंग्याउन सोमबार बिहान बोलाइएको पदाधिकारी बैठक २ बजेसम्मलाई स्थगित गरेर प्रचण्ड सोलुखुम्बुको दुधकोसी गाउँपालिकाको भवन उद्घाटन गर्न गएका थिए ।

कार्यालय सचिव उपाध्यायका अनुसार सोमबार बिहान बसेको कार्यदलको बैठकले ४ सयबाट पनि नाम घटाएर ३३० मा झारेको छ । दलहरुले प्रतिनिधिसभाका लागि ११० र प्रदेशसभाका लागि २२० गरी ३३० जनाको बन्दसूची निर्वाचन आयोगमा सोमबार नै पठाउनुपर्नेछ । माओवादीले समानुपातिकमा यसअघिका सांसदलाई नदोहोर्‍याउने मापदण्ड बनाएको छ । पदाधिकारीबाट कोही पनि समानुपातिक सूचीमा नपरेको बताइएको छ ।