राजनीति

डेंगी नियन्त्रणका लागि सरकारले चालेका कामकारबाहीप्रति गगन थापाको असन्तुष्टि



काठमाडौँ, ४ असोज । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महामारीको रुपमा फैलिएको डेंगी नियन्त्रणका लागि सरकारले चालेका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

आजबाट काठमाडौँमा सुरु भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले स्थानीय सरकारले समेत डेंगी महामारी नियन्त्रणका लागि प्राथमिकता दिन नसकेको गुनासो गरे ।

कोभिडपछि पर्याप्त मात्रामा स्वास्थ्य क्षेत्रमा बजेटको व्यवस्था गरे पनि सरकारले आपतकालका बेला रोग नियन्त्रणका लागि आवश्यक संरचनाहरुको भने निर्माण गर्न नसकेको उनको भनाइ थियो ।

उनले भने, “हामीसँग रातारात आपतकालीन समयमा काम गर्ने संरचनाहरु छ कि छैन ? यो काठमाडौँमा मात्रै सीमित भएको कुरा देशभर फैलने क्रममा जुन छ । कोभिडबाट सिकेर सरकारले आवश्यक तयारी नगरेको देखियो,” थापाले भने, “कोभिडलगत्तै नेपाल सरकारको निर्णय, त्यतिबेलाको बजेट आदिलाई हेर्ने हो भने पनि सरकारले स्वास्थ्य संरचनाहरुको निर्माणमा खासै चासो दिएका देखिएन वा सिक्न चाहेन ।”