समाचार

चाडपर्वलाई लक्षित गरी १५ ठाउँमा यात्रु सहायता कक्ष



काठमाडौँ, ६ असोज । उपत्यकाका विभिन्न १४ ठाउँ र काभ्रेको साँगामा गरी १५ ठाउँमा यात्रु सहायता कक्ष स्थापना भएको छ । दशैँ/तिहार, छठ पर्वका बेला यात्रुलाई ठगिन नदिने उद्देश्यले विभिन्न १५ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । यात्रुले भाडामा ठगिनुपरेको गुनसो गर्दै आएका छन् ।

यातायात व्यवस्था विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्वलाई लक्षित गरेर नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष राखेका छन् ।

यात्रु सहायता कक्षबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र अरु आवश्यक समन्वय गरिनेछ । पूर्वमा जाने यात्रुलाई ध्यानमा राखेर यसपालि काभ्रेको साँगामा पनि सहायता कक्ष स्थापना गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।