राजनीति

शंकर पोखरेलको प्रश्न, विवाहलगत्तै नागरिकता दिने प्रचलन दक्षिण एसियामा कहाँ छ ?



काठमाडौँ, ६ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नागरिकताको विषयलाई एमालेविरुद्धको हतियार बनाउन खोजिएको बताएका छन् ।

ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले विवाह गरेर आएका विदेशी महिलालाई लगत्तै नागरिकता दिने चलन कहाँ छ भन्दै प्रश्न गरे । “विवाहलगत्तै नागरिकता दिने प्रचलन दक्षिण एसियामा कहाँ छ ? गठबन्धनले देखाओस्,” उनले चुनौती दिए ।

उनले भने, “नागरिकता विषयलाई हाम्रो पार्टीको विरुद्धको हतियारको रूपमा प्रयोग गर्न खोजिएको छ । हामी नागरिकताका विषयमा प्रस्ट छौँ । नेपाली नागरिकले नागरिकता प्राप्त गर्नुपर्छ ।” उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेशलाई रोक्न खोजेकाहरूले अहिले एमालेले अवरोध गरेको प्रचार गरिरहेको आरोप लगाए ।

“त्यो अध्यादेशलाई रोक्न खोज्नेहरू अहिले नेकपा (एमाले)ले नागरिकताका बारेमा अवरोध सिर्जना गरेको प्रचार गर्न खोज्दै छन् । यदि, अध्यादेशलाई नरोकेको भए नागरिकका सन्तानले नागरिकता प्राप्त गर्थे,” पोखरेलले भने ।