Banner News

ओलीको आक्रोश, यो देश गृहमन्त्रीको घरबाट ल्याएको हो ?



काठमाडौं, ६ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरिएकोप्रति आक्रोश व्यक्त गरेका छन् ।

आज ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले ‘कुन कानुनको आधारमा सुरक्षा खोसिएको ?’ भन्दै प्रश्न गरे । आक्रोशित हुँदै उनले ‘देश गृहमन्त्रीको घरबाट ल्याएको हो ?’ भन्दै प्रश्न गरे ।

“प्रधानन्याधीशको सुरक्षा खोसियो । कुन कानुनको आधारमा खोसियो ? गृहमन्त्रीको तजबिजी कानुनमा ? यो गृहमन्त्रीको घरबाट ल्याएको देश हो ? मनपरी गर्ने देश हो यो ?,” ओलीले प्रश्न गरे, “गृहमन्त्रीको पदमा दुई–चार महिना पुग्यो भन्दैमा मनपरी गर्ने ? कानुन छैन यहाँ ?”

उनले ‘जबरालाई कुन कानुनले नजरबन्दमा राखिएको ?’ भन्दै प्रश्न गरे । “कुन कानुनले यो सबै गर्दै हुनुहुन्छ ? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ । कुन कानुनले प्रधानन्यायाधीशलाई बिनापक्राउपुर्जी नजरबन्दमा राख्नुहुन्छ ?,” ओलीले भने ।