राजनीति

पूर्वमन्त्री बस्नेतद्वारा तारकेश्वर–घ्याम्पेडाँडा सडक निर्माणको शुभारम्भ



भक्तपुर, ६ असोज । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतद्वारा तारकेश्वर सिलामगाल हुँदै घ्याम्पेडाँडा सडकको स्तरउन्नती तथा कालोपत्रे गर्ने कार्यको शुभारम्भ गर्नुभएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ७ को आयोजनामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको समयमा प्रतिनिधि सभाका सांसदहरुको सिफारिसमा विनियोजन गरिएको योजना ‘रणनैतिक सडक’ अन्तरगतको रु ९ करोडको लागतमा निर्माण गरिने उक्त सडकको आज एक विशेष कार्यक्रम गरी स्तरउन्नती तथा कालोपत्रे गर्ने कार्यको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा बोल्दै नेता बस्नेतले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो क्षेत्रमा गठबन्धनलाई तेब्बर मतले विजयी गर्ने उद्घोष गर्नुभयो । जनताले सहभागिताले जिल्लाको विकास र समृद्धिले ऐतिहासिक भएको उल्लेख गर्दै उहाँले आफ्नो क्षेत्रको विकास र समृद्धिमा देशकै नमुना भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘चुनावमा केहुन्छ ? कस्तो हुन्छ ? भनेर चिन्ता गर्नु पर्दैन । चुनाव तीन गुणा मतले जितिन्छ । ढुक्क भएर आजैदेखी निर्वाचन केन्द्रीत भएर लाग्नुस् ।’

कामलाई गुणस्तरियता र स्थायीत्वको सडक बनाउन आवश्यक रहेको उल्लेख गर्दै उहाँले सडक निर्माण गर्ने ठेगदारले एक कप चिया पनि कसैलाई खुवाउनु नपर्ने उल्लेख गर्नुभयो । विकास गर्न कतिपय स्थानमा सिमाङ्कन, ठेगदार भागेका कारण, मुद्धालगायतका कारण निर्माणमा ढिलाई भएको स्वीकार गर्नुभयो ।

हरेक समस्याको विकल्प हुने उल्लेख गर्दै उहाँले नेतृत्व विश्वास र भरोषायुक्त हुनुपर्नेमा जोड दिनुभयो । घर भत्काएर मात्र विकास नहुने उल्लेख गर्दै उहाँले सडक निर्माण तथा विस्तारको क्रममा बैकल्पीक सोच, अनुभव र सिर्जनशिलताका आधारमा अगाडी बढ्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । सडक निर्माण गर्दा व्यक्तिको घरलाई उठिबास लगाउने नभई त्यसको विकल्पहरु खोजेर आगाडी बढ्नुपर्नेमा जोड दिँदै उहाँले भक्तपुरमा जनताको घरजग्गालाई संरक्षण गर्दै भएका आधुनिक विकासको मोडल भक्तपुरमा भएको उदाहरणसहित प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराई, वडाध्यक्ष रविन्द्र सापकोटा, गुण्डु खानेपानी उपभोक्ता महासंघका अध्यक्ष तथा एमालेको नेता मनकराम थापा लगायतले नगरपालिका क्षेत्रको विकास र आगामी दिनको रणनीतिको बारेमा बोल्नुभयो ।