समाचार

विश्वको आठौँ अग्लो हिमाल मनास्लुमा प्याराग्लाइडिङ



काठमाडौँ, ७ असोज । विश्वको आठौँ अग्लो मनास्लु हिमालबाट प्याराग्लाइडिङ परीक्षण उडान भइरहेको छ । सो हिमालको उचाइ आठ हजार १६३ मिटर रहेको छ ।

मनास्लुमा प्याराग्लाइडिङ परीक्षण उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुमतिमा छ जना आरोहीको टोलीले परीक्षण उडानको अभ्यास गरिरहेको छ । आधार शिविरमा रहेका आरोही मिङ्मा डेबिड (ग्याबु) शेर्पाका अनुसार आठ हजार मिटरभन्दा अग्लो हिमालबाट पहिलो पटक प्याराग्लाइडिङ उडानको सम्भाव्यता अध्ययन हुन लागेको हो ।

यस कामले मनास्लुमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन तथा अनुसन्धान, हिमाली पर्यटनको प्रवद्र्धन, साहसिक खेलको सम्भावना उडान र अवतरणका लागि उपयुक्त ठाउँको खोजी, प्राविधिक अध्ययनको खोजी गर्न लागिएको उनले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।