राजनीति

अनुपको क्षेत्रमा रविको आँखा !



काठमाडौँ, ७ असोज । काठमाडौँ क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दिएका अनुप बोहोरा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग्गिने मुडमा पुगेका छन् ।

जेठमै उम्मेदवारी घोषणा गरेर चुनावी अभियान शुरू गरिसकेका बोहोराकै निर्वाचन क्षेत्रमा लामिछानेले आँखा गाडेका हुन् । बोहोरालाई उपसभापति डीपी अर्यालले सांसद उठ्ने ढिपी छोड्न चेतावनीसमेत दिएका छन् । ‘मैले राष्ट्रिय स्वतन्त्र पार्टीकै झन्डा लिएर यतिधेरै क्याम्पियन गरें तर अन्तिममा मेरै क्षेत्र छोड भनेर उनीहरू आए,’ बोहोराले भने ।

उनले आफूले पार्टी छोड्न सक्ने तर उम्मेदवारी कुनै हालतमा छोड्न नसकिने जवाफ दिएको बताएका छन् । ‘म मरिगए उम्मेदवारी छोड्न सक्दिन,’ बोहोराले भने, ‘बरू पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बन्छु ।’ बोहोराले जेठबाट नैआफ्नो चुनावी क्याम्पियन शुरू गरिसकेका छन् । बोहोराको उम्मेदवारी घोषणा भएपछि मात्र लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका हुन् । त्यसपछि बोहोरा पनि पार्टीमा आबद्ध त भए तर पार्टीको जिम्मेवारीमा अहिलेसम्म छैनन् ।

देशभरि १ सय ६५ निर्वाचन क्षेत्र छन् । तर लामिछानेले बोहोराकै क्षेत्र रोज्नुमा कम जोखिम हुने ठानेर त्यता आँखा लगाएका हुन् । बिजनेस एड्मिनिस्टे्रसनमा स्नातक गरेका बोहोरा सफल व्यवसायीसमेत हुन् । स्थानीय युवामाझ परिचित बोहोराले परिवर्तन कुनै पाकेको फल नभएको र पर्खेर बसे परिवर्तन नहुने धारणाका साथ उम्मेदवारी दिएको बताए । ‘परिवर्तन पाकेको फल होइन,’ बोहोराले भने, ‘यो आफैं आउँदैन । हामी अघि सर्नुपर्छ र परिवर्तनको बाहक बन्नुपर्छ । म मेरो पिढीका लागि नमूना बनेर यहाँको स्थानीय समस्याहरूलाई राष्ट्रिय मुद्दा बनाएर संसदमा आफ्नो आवाज उठाउन चाहन्छु ।’

उक्त क्षेत्रमा गत संसदीय निर्वाचनमा नेकपा एसका अध्यक्ष नेपाल निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार दीपक कुइँकेलले १४ हजार ९ सय मत पाएर दोस्रो भएका थिए । विवेकशील साझाका तर्फबाट डा. सूर्यराज आचार्यले भने ७ हजार ४ सय ३६ मत प्राप्त गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका लामिछानेले चितवन क्षेत्र नं. ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भिड्ने उद्घोष गरेका थिए । तर प्रचण्डको भन्दा पनि एमालेको उक्त क्षेत्रमा पकड रहेको छ । प्रचण्डलाई समेत एमालेले हराउने संकेत पाएका लामिछानेले एमालेसँग प्रतिष्पर्धा गर्ने सम्भावना नदेखे पछि आफ्नै पार्टीका कार्यकर्ताले पाँच वर्ष अघिदेखी नै तयारी गरिरहेको क्षेत्रमा आँखा लगाई स्वतन्त्र पार्टीभित्र खैलाबैला मच्चाएका छन् । स्रोतका अनुसान लामिछानेले आज भोली नै काठमाडौँ क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका आफ्नो उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका छन् ।