Banner News

बाबुरामसँगको सहकार्य चुनावसम्म मात्र होइन, पछिसम्मलाई हो : अध्यक्ष दाहाल



काठमाडौँ, ८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँगको सहकार्य धेरै लामो हुने बताएका छन् ।

आज काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै आफूहरुको सहकार्य चुनावसम्मका लागि मात्र नभएको बताएका हुन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् ।

प्रचण्डले भने, ‘यो निर्णय चुनावका लागि मात्र गरिएको निर्णय होइन, त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौं ।’

प्रचण्ड र बाबुराम एक ठाउँमा हुँदा लाखौं करोडौं जनता एक ठाउँमा हुने उनले बताए । ‘प्रचण्ड, बाबुराम यो कुनै दुईटा नाममात्र भएर परिवर्तन भएको होइन । यो इतिहासले, नेपाली जनताले निकै ठूलो त्याग तपस्या र बलिदानबाट उनीहरुले पैदा गरेको नामहरु हुन् यी’, प्रचण्डले भने, ‘उनीहरु (प्रचण्ड र बाबुराम) एकै ठाउँमा हुँदा त्यो दुई जना एक ठाउँमा भएको हुँदैन, लाखौं करोडौं जनताहरु फेरि एकतावद्ध भएर नयाँ यग निर्माणतिर अगाडि जाने ऊर्जा प्राप्त हुने गर्दछ ।’