काठमाडौं, १७ माघ । नेपाललाई अन्तर्राष्ट्रिय आपराधिक गिरोहले अपराधको ट्रान्जिट बनाउन लागेको प्रहरीको एक अध्ययनले देखाएको छ ।
गत वर्ष नै तयार भएको एक अध्ययन प्रतिवेदनले अन्तरदेशीय अपराधीहरूले नेपालको भूभाग प्रयोग गरेर छिमेकी तथा युरोपियन मुलुकमा सुन तथा लागूऔषध तस्करी गरिरहेको जनाएको छ ।
नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले गत वर्ष तयार गरेको प्रतिवेदनमा लागूऔषध, जाली भारतीय रूपैयाँ र मानव तस्करी तथा सुनका लागि अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ट्रान्जिट बनाएको उल्लेख छ ।
यद्यपि, यसलाई अहिलेसम्म गोप्य राखिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुरेन्द्रबहादुर शाह तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवाल अपराध अनुसन्धान विभागमा रहँदा सो प्रतिवेदन तयार गरी मातहतका निकायलाई जानकारी गराइएको थियो ।
प्रतिवेदनमा अन्तरदेशीय सम्पर्कका अपहरण, लागूऔषध, जाली नोट तस्करी, हातहतियार र मानव तस्करीका घटना बढेको उल्लेख छ । त्यसको अनुसन्धानसमेत जटिल बन्दै गएको विभागले उल्लेख गरेको छ ।
प्रतिवेदनमा मलेसिया, दुबई, कतार, साउदी तथा तिब्बतबाट सुन तस्करी भई भारततर्फ जाने र लागूऔषध कारोबारमा ब्राजिल र दक्षिण अफ्रिकासम्मको ‘लिंक’ रहेको उल्लेख छ ।
पछिल्लोपटक दुबईबाट तस्करीका लागि नेपाल आएको ३३ किलो सुन बरामद भएको थियो । सुन नेपाल आउनुमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अन्तरदेशीय अपराधीहरूको संलग्नता रहेको जनाएको छ ।
प्रतिवेदनअनुसार यो धन्दामा नेपालमा बंगलादेश, पाकिस्तान, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स, जाम्बिया, ब्राजिल र दक्षिण अफ्रिकाका नागरिकसमेत सक्रिय रहेका छन् ।
पछिल्लो समय ब्राजिलमा उत्पादित कोकिन भारत हुँदै युरोपको बजारमा लैजान लागूऔषध कारोबारमा सक्रिय अन्तर्राष्ट्रिय आपराधिक समूहले नेपाललाई ट्रान्जिट बनाएको ब्युरोले दाबी गर्दै आएको छ ।
हाल सीआईबी प्रमुखसमेत रहेका डीआईजी सिलवालले नेपालमा अन्तर्देशीय अपराधीहरूले ट्रान्जिट बनाएर मुलुककै बदनाम गर्न खोजेको बताए । ‘नेपाल प्रहरीको सक्रियताका कारण धेरैजसो अपराधी कानुनी फन्दामा परेका छन्, तस्करी रोक्न प्रहरी सक्रिय छ,’ डीआईजी सिलवालले भने ।
सीआईबीका अनुसार मध्यपूर्व र दक्षिणपूर्वमा नेपाली नागरिक कामदारका रूपमा जाने क्रमसँगै मानव तस्करीसमेत बढेको राजधानिमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्