राजनीति

पर्यटनमन्त्री श्रेष्ठ क्यानडा प्रस्थान



काठमाडौँ, १० असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा भाग लिन क्यानडा प्रस्थान गरेका छन् ।

क्यानडामा भोलिदेखि सुरु हुने महासभामा १ सय ९३ देशका मन्त्री तथा उच्चपदस्थ अधिकारीहरू सहभागी हुनेछन् । क्यानडाकै भिसा लिन जाँदा मन्त्री श्रेष्ठ विवादमा तानिएका थिए । भिसा आवेदन दिन छाया सेन्टरमा जाँदा आफूलाई दुर्व्यवहार गरेको भन्दै त्यहाँको गार्डलाई पक्रन लगाएपछि मन्त्री श्रेष्ठको आलोचना भएको थियो ।

सम्मेलनमा मन्त्री श्रेष्ठले उड्डयन सुरक्षा क्षमता अभिवृद्धिमा नेपालले गरिरहेको प्रयासबारे विश्व समुदायलाई जानकारी गराउनेछन् । साथै उनले हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नति तथा नयाँ विमानस्थल निर्माण लगायत नेपालले उड्डयन क्षेत्रमा हासिल गरेका उपलब्धिबारे पनि महासभालाई जानकारी गराउनेछन् ।