राजनीति

गठबन्धन खरानीको डल्ला हो : पूर्वमन्त्री बस्नेत



भक्तपुर, १० असोज । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पाँच दलीय गठबन्धन खरानीको डल्ला जस्तै भएकाले एमालेले फ्यास्स हान्यो भने फुट्ने दावी गर्नुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुरले आज आयोजना गरेको युवा भेला तथा नेपालीहरुको चाडपर्व विजया दशमी, दिपावली, नेपाल सम्वत, छठलगायतको उपलक्षमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गठबन्धन भनेको देश र जनताको लागि नभई आफ्नो स्वार्थ पुरा गर्ने र मुलुकलाई चरम संकटमा पुर्याउने मात्र भएको उल्लेख गर्नुभयो । गठबन्धन पानीको फोका जस्तो मात्र भएको उल्लेख गर्दै पूर्वमन्त्री समेत रहनुभएका नेता बस्नेतले गठबन्धनले मुलुकलाई भ्रष्टाचार, अराजकता र अधोगतिमा लगेको भन्दै आक्रोस जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान पाँच दलीय गठबन्धन भनेको खरानीका डल्ला जस्तै हो । एमालेले फ्यास्स हान्यो भने फुट्छ । खरानीको डल्लाको कुनै भर हुँदैन । गठबनधन पानीको फोका जस्तो हो । गठबन्धनको पनि आम नेपाली जनतालाई कुनै भरोसा छैन । जनताको प्रिय पार्टी भनेको नै एमाले मात्र हो । मुलुक राष्ट्रियताको पहरेदार पार्टी एमाले मात्र भएकाले अबको निर्वाचनमा एमालेले सानदार बहुमतका साथ जित्नुपर्छ । त्यसको लागि जनतालाई एमालेले विगतमा गरेको राम्रा कुराहरुलाई जनताको माझ प्रत्यक्ष तथा डिजिटल प्रविधिको माध्यमबाट पुर्याउनुपर्छ । युवाले अधिकतम डिजिटल प्रविधिको प्रयोग गरी भुर्चअल माध्यमबाट एमालेको प्रचार प्रसार गर्नुपर्छ । जसको लागि भक्तपुरका युवाहरु आजैदेखी संगठित रुपमा लाग्नुस् । गठबन्धन सरकारको भ्रष्टाचार र राष्ट्रहित विपरित गरिएका एमसीसी, एसपीपी सम्झौता, राष्ट्रघाती नागरिकता विधेयकलगायतका मुलुकलाई दिर्घकालिन रुपमा समस्या उत्पन्न गराउने कुराहरु जनतालाई बुझाउनुपर्छ । विकासको बजेट कटौती गरी गठबन्धनले आफ्नो दुननो सोज्याउने कार्य गरेका तथ्यहरु एक एक गरी उच्चतम प्रविधिको प्रयोग गरी जनताको माझमा लैजानुपर्छ । त्यसैले मुलुकको रुपान्तरणको लागि केपी ओलीले नेतृत्व गर्नुभएको एमालेको जनप्रिय कार्यहरुलाइ जनतालाई बुझाउन जस्तोसुकै परिस्थितीको सामना गरी युवाहरु अगाडी बढ्नुस् ।’

मुलुकको परिवर्तनको जिम्मेवारी युवाको काँधमा रहेको उल्लेख गर्दै उहाँले एमालेको मात्र नभई मुलुकको भाग्य र भविष्य निर्धारण गर्न युवाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । युवाहरुले बौदिकताको विकास गर्नु अपरिहार्य रहेको औल्याउँदै नेता बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गरी एमाले र एमालेको नेतृत्वलाई खुइल्याउने तत्वहरुलाई साइवर सर्कलको मााध्यमबाट परास्त गर्नुपर्नेमा जोड दिनुभयो । सामाजिक सञ्जालको दुरुपयोग गरी विदेशी मिसनमा आएका केही व्यक्ति वा जनप्रतिनिधिहरुले नेपालको व्यवस्थालाई नै तहसनहस बनाउने खेलमा लागिरहेको उल्लेख गर्दै उहाँले त्यस्ता अराजक तत्वहरुलाई कानुनी कठघरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘देशी विदेशी तत्वहरुको लगानी तथा रणनीतिमा कतिपय व्यक्ति तथा केही जनप्रतिनिधिहरु अगाडी बढेको देखिन्छ । विदेशी तत्वकै योजनामा नेपालको व्यवस्था परिवर्तन गर्ने खेल भइरहेको प्रष्ट बुझ्न सकिन्छ । यसलाई रोक्न अहिलेको अपरिहार्यता जस्तै भएको छ । यसको लागि आगामी मंसिर ४ को निर्वाचन पछि एमालेले सरकार सञ्चालन गर्ने छ । त्यस पश्चात त्यस्ता अपराधिक कार्य गर्नेलाई एक एक हिसाव गरी जेल हाल्ने छौं । दैनिक एक हजार भए पनि जेल हाल्छौं ।’

विकासको मोडल र तरिका हेर्न भक्तपुर आए पुग्ने दावी गर्दै उहाँले ध्वसंले मुलुकको विकास र समृद्धि नहुने दोहोर्याउनुभयो । बजारी क्षेत्रमा बसोवास गर्ने सवै व्यक्तिहरु धनि बर्गका नभएको उल्लेख गर्दै उहाँले जनताको गास, वास, कपास, रोजगार, व्यवसाय तथा बासस्थानलाई उठिबास लगाएर विकासको कल्पना नगर्न जनप्रतिनिधिलाई चेतावनी समेत दिनुभयो । भक्तपुरमा ध्वसं नगरी सडक, शिक्षा, स्वास्थ्य, पर्यटकीय क्षेत्र, करिडोर, विद्युतलगायतका कार्यहरुको विवेचनात्मक रुपमा विश्लेषण गर्दै नेता बस्नेतले जनताको सम्पती संरक्षण गर्ने जिम्मा मात्र सरकारको भएको तर ध्वंस गर्ने अधिकार नभएको स्मरण गराउन्भयो । विकास र समृद्धिका कार्यमा मध्यपुरका जनप्रतिनिधि कहाँ लुके ? भनि प्रश्न गर्दै नेता बस्नेतले आधुनिक विकासको लागि सूर्यविनायक नगरपालिको गतिविधिलाई आधार मान्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेको केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्र, सहइन्चार्ज गोविन्दप्रसाद दुलाल, भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, एमाले बागमती प्रदेश सदस्य शसी जंग थापा, नवराज गेलाल, सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, उपप्रमुख सरिता भट्टराई, एमाले जिल्ला सचिव मोहनविर श्रेष्ठ, समाजसेवी तथा एमाले नेता किरण थापा, अनेम संघ केन्द्रीय सदस्य जुना बस्नेत, भक्तपुर अध्यक्ष उत्तरा नेपाललगायतका एमालेका जिल्ला तथा प्रदेशका नेता तथा युवा संघका केन्द्र तथा जिल्ला तहका नेताहरुको सहभागिता रहेको थियो ।