काठमाडौँ, १२ असोज । नेपाली कांग्रेसभित्र प्रतिनिधि सभा, प्रदेश सभा समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिएका नाममा असन्तुष्टि आएपछि उम्मेदवार सूची हेरफेर गर्न लागिएको छ ।
संस्थापनइतर (शेखर कोइराला-गगन थापा) निकट केही नेताहरूले समानुपातिक उम्मेदवार सूची तयार पार्दा सभापति शेरबहादुर देउवा समूहले एकलौटी गरेको भन्दै असन्तुष्टिका आवाज आएका थिए । शेखर पक्षले संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेपछि सभापति देउवाले शीर्ष नेताहरूसँग छलफल गरेका थिए । मंगलबार बालुवाटारमा देउवाले सबैसँग छलफल गरी समानुपातिक उम्मेदवार सूची हेरफेर गरेर जान सकिने तयारी गरेको बताइएको एक नेताले बताए । सभापति देउवासहित कांग्रेसका नेताहरू समानुपातिक उम्मेदवार सूची संशोधन गर्नेबारे आज पनि छलफल गर्ने तयारीमा छन् ।
यसैबीच संस्थापनइतर समूहले भने आज पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने तयारी गरेका छन् । बिहीबार बत्तिसपुतलीमा चियापान गर्ने र शुक्रबारसम्म पनि समानुपातिक सूची संशोधन नगरिए बालुवाटारमा धर्ना दिने तयारी असन्तुष्ट समूहको छ । समानुपातिक उम्मेदवार सूची संशोधन नगरेमा स्वतन्त्र उम्मेदवारी दिनेसम्मका तयारी असन्तुष्ट पक्षको छ । कांग्रेसभित्र देखिएको यो विवादले सत्ता गठबन्धनका अन्य दल पनि हच्किएका छन् ।
सभापति देउवा पक्षले कोइराला पक्षलाई ४० प्रतिशत भाग नदिएको आरोप छ । ११० जना प्रतिनिधि सभा सदस्य उम्मेदवारको नाम बुझाउँदा करिब १४ जनाको नाम मात्रै कोइराला पक्षबाट राखिएको र त्यो परामर्शविनै राखिएको भन्दै संस्थापनइतर नेताहरूले असन्तुष्टि जनाएका छन् ।










प्रतिक्रिया दिनुहोस्