Banner News

नवरात्रको आज आठौँ दिन, महागौरीको पूजा गरी मनाइँदै



काठमाडौँ, १७ असोज । नवरात्रको आज आठौँ दिन, दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । बडादसैँको आठौँ दिन आज महागौरी देवीको विशेष पूजाआराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएका स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवीस्तोत्र पाठसमेत गरिन्छ । आजको दिन शास्त्रसम्मतरूपमा दसैँ घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।

महाअष्टमीका दिन राति हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ । कोरोना महामारीका कारण विसं २०७७ मा भने हनुमानढोकामा बलिसहित पूजा रोकिएको थियो ।