काठमाडौँ, २० असोज । सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ ।
गठबन्धन नेताहरु दसैं मनाएर प्रधानमन्त्री निवास बालुवाटार पुगे पनि कुनै सहमति जुटाउन सकेनन् । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार आज नेपाली कांग्रेसले मुख्यतः एकीकृत समाजवादी र जसपासँग दुई पक्षीय छलफल गरेको थियो । कार्यदलको प्रस्तावमाथि एकीकृत समाजवादी र जसपाको विमति रहेकाले सहमतिका लागि कांग्रेसले दुई पक्षीय छलफल गरेको हो ।
सञ्चारमन्त्री तथा कार्यदल सदस्य ज्ञानेन्द्र कार्कीले पनि केही दिनदेखि दुई पक्षीय छलफल भइरहेको बताए । यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समाजवादी र जसपाको अडानका कारण सहमति पुग्न नसकिएको बताए । जसपाले धनुषा र सप्तरीका केही सिटमा मैत्रीपूर्ण प्रतिस्पर्धाका लागि प्रस्ताव राखेको पौडेलले बताए । यता एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको अडान पनि सहमतिको बाधक बनेको छ । उनले भने, ‘माधव नेपालजी पनि अलिकति सिट संख्या बढी चाहियो भनिराख्नु भएको छ । त्यसमा कुराकानी चल्दैछ ।’
कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाको तयार पारेको प्रतिवेदनमा कांग्रेसले ८७ र माओवादी केन्द्रले ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने उल्लेख छ । तर यसमा एकीकृत समाजवादी र जसपाको विमति देखिन्छ ।










प्रतिक्रिया दिनुहोस्