सम्पादकीय

मोर्चा नमाने पनि चुनाव घोषणाको तयारी



काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल चौतर्फी दबाब र असहयोगकै बाबजुद पनि यसै साता स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने अन्तिम तयारीमा जुटेका छन् ।

१५ माघभित्रै निर्वाचनसम्बन्धी संसद्मा विचाराधीन कानुन पारित गराएर निर्वाचन घोषणा गर्ने तयारीमा जुटेका प्रधानमन्त्री दाहाल आज (सोमबार) सम्म आवश्यक कानुन पारित गराउने र आजै सत्तारूढ नेपाली कांग्रेस र संयुक्त मधेसी मोर्चासँग वार्ता गरी सम्भव भए मंगलबार नभए केही दिनभित्रै निर्वाचन मिति घोषणा गर्ने तयारीमा छन् ।

स्थानीय विकास तथा संघीय मामिलामन्त्री हितराज पाण्डेले सरकारले देशलाई निर्वाचनमा लैजान आवश्यक सबै पहल अगाडि बढाइरहेको भन्दै यसै साता बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा हुने दाबी गरे।

प्रधानमन्त्रीको सचिवालयले सोमबारसम्म निर्वाचनसम्बन्धी आवश्यक कानुन पारित भइसक्ने सम्भावना रहेको भन्दै सहमति जुटेको खण्डमा मंगलबार नै निर्वाचन मिति घोषणा गर्ने तयारी भइरहेको जनायोे ।‘

अहिले नै यो दिन मिति घोषणा हुन्छ त नभनौं, सोमबारसम्म आवश्यक निर्वाचन कानुन पारित भइसक्ने र निर्वाचनका लागि सहमति जुटेमा मंगलबार नै पनि निर्वाचन मिति घोषणा हुन सक्छ, नभए यसै साता निर्वाचन मिति घोषणा हुन्छ र देश निर्वाचनमा जानेछ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘प्रधानमन्त्री अहिले यसैमा सहमति जुटाउन अन्तिम प्रयास गरिरहनुभएको छ ।’

प्रमुख प्रतिपक्षी नेकपा एमालेले चाँडो निर्वाचन मिति घोषणा गर्न माग गरिरहेको छ । यस्तै, नेपाली कांग्रेस पनि निर्वाचन मिति घोषणाको पक्षमा उभिएको छ । तर, सरकारलाई समर्थन गरिरहेको मधेसी मोर्चाले भने संविधान संशोधन विधेयक पारित भएपछि मात्रै निर्वाचन मिति घोषणा गर्नुपर्ने अडान राख्दै आएको छ ।

स्थानीय विकासमन्त्री पाण्डे भने निर्वाचन गर्न मोर्चासहित सबै दल सहमत भएको र संविधान संशोधन विधेयक पनि प्रक्रियामा रहेकाले निर्वाचन मिति घोषणामा सबैको सहमति हुने बताउँछन् ।

प्रधानमन्त्री दाहालले मोर्चालाई पनि निर्वाचन मिति घोषणा गर्न सहमति जुटाएर मिति तोक्ने तयारी गरेका छन् । दाहालले निर्वाचन मिति घोषणाका विषयमा सोमबार मोर्चाका नेताहरूलाई बालुवाटारमा बोलाएका छन् ।

मोर्चासँगको वार्ताअघि नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल हुने बताइएको छ। त्यसपछि पुनः त्रिपक्षीय छलफल गरेर निर्वाचनको मिति टुंगो लगाउने सोचमा प्रधानमन्त्री रहेका छन् ।

निर्वाचन मितिकै विषयमा आइतबार प्रधानमन्त्री दाहाल र प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवबीच भेटवार्ता भएको छ। भेटमा प्रधानमन्त्रीले सरकार निर्वाचन मिति घोषणाको अन्तिम तयारीमा रहेको जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको राजधानीमा समाचार छ ।