काठमाडौँ, २२ असोज । जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिंदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रवेश पाएको छ ।
गठबन्धनबाट जसपाले प्रतिनिधिसभामा १६ सिट पाउने निश्चित जस्तो भएको थियो । तर, सिट बाँडफाँटप्रति असन्तुष्टि जनाएको उसले अरु दलसँग तालेमल गर्ने ढोका खोल्यो । यद्यपि बिहीबार साँझसम्म जसपाका नेताहरु सत्ता गठबन्धनको बैठकमा सहभागी भएको थियो ।
एमालेसँग प्रदेशसभाको समेत सिट बाँडफाँटबारे छलफल थालेको जसपाका नेताहरु शुक्रबार बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा गएनन् । केही घण्टासम्म जसपा नेताहरुलाई कुरेका सत्ता गठबन्धनका नेताहरुले तत्काल लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुलाई बोलाएर छलफल थालेका छन् । लोसपा नेताहरु शरतसिंह भण्डारी, अनिलकुमार झा र जितेन्द्र सोनल बालुवाटार पुगेका थिए । उनीहरुले प्रतिनिधिसभाको १५ सिट र मधेश प्रदेशमा मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने दाबी गरेका थिए ।
गठबन्धनका एक नेताका अनुसार सत्ता गठबन्धनका दलहरु ८ सिट दिन सहमत भएका छन् । ‘लोसपा आजबाट तालेमलमा आएको छ’, माओवादी केन्द्रका एक नेता भन्छन्, ‘उहाँहरुलाई ८ सिट दिने सहमति भएको छ । थप केही सिटमा छलफल जारी छ ।’
वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमनलाई बालुवाटारको बैठकमा पठाएका जसपा अध्यक्ष यादव भने एमाले नेताहरुसँग वार्तामा थिए । एमाले सचिव रघुवीर महासेठको निवासमा अबेरसम्म चलेको बैठक सहमति नजिक रहेका नेताहरु बताउँछन् । जसपाले मधेस प्रदेशका १६ सहित २४ सिटमा दाबी गरेको छ भने एमाले २२ सिट दिन तयार भएको छ ।










प्रतिक्रिया दिनुहोस्