समाचार

पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु



काठमाडौँ, २२ असोज । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

आज बिहान करिब ३–४ बजेतिर घरमाथि पहिरो खसेर उनीहरु पुरिएका थिए । उनीहरुका छिमेकी सुरेन्द्र हमाल र गणेश बहादुर शाही पहिरोमा बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ ।

घटनास्थलबाट दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । घाइतेहरुमध्ये रामबहादुर हमालको अवस्था सामान्य र सरस्वती हमालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।