काठमाडौँ, २३ असोज । नेपाली कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो आइतबार बिहानसम्म लगाउने भएको छ ।
कांग्रेसले शनिबार साँझ ५ बजेसम्म यातायातका दृष्टिकोणले दुर्गम रहेका प्रतिनिधिसभाका १५ र प्रदेशसभाका ३२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारलाई टिकट दिएर पठाएको छ । कांग्रेसले प्रतिनिधिसभातर्फ चार दर्जन निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम टुंगो लगाए पनि प्रदेशसभातर्फ भने निर्णय गर्न सकेको छैन ।
पार्टीका शीर्ष नेताहरू शनिबार लोसपासँगको छलफलमा केन्द्रित भएकाले उम्मेदवार टुंगो लगाउन ढिला भइरहेको एक नेताले बताए । ती नेताका अनुसार पार्टीभित्रको गुटगत सन्तुलन मिलाउँदा अन्तिम समयमा पनि नाम हेरफेर हुन सक्छ । ‘संघको उम्मेदवार बन्ने पक्का भएका पदाधिकारीलाई पनि प्रदेशमा जानुपर्ने अवस्था आउलाजस्तो छ,’ बैठकमा सहभागी पदाधिकारी स्तरका ती नेताले भने, ‘त्यसैले उम्मेदवार छनोटमा केही समस्या देखिएको छ ।’
प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनतर्फ पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहितका केही नेतालाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले शुक्रबार मध्यराति टुंगो लगाएको थियो । यो समाचार आजको नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्