शैक्षिक

कक्षा १२ को दोस्रो चरणको पुनर्योगको नतिजा प्रकाशित



काठमाडौँ, २६ असोज । राष्ट्रिय परीक्षा बोर्डले दोस्रो चरणको पुनर्योगको नतिजा प्रकाशित गरेको छ ।

गत जेठमा लिइएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजामा नियमिततर्फ एनजी (नट ग्रेडेड) आई पुनर्योगको लागि आवेदन दिएका परीक्षार्थीहरूको दोस्रो चरणको नतिजा बोर्डले प्रकाशित गरेको हो । बोर्डले पुनर्योगका लागि २५ भदौ २०७९ देखि २ असोजसम्म पुनर्योगको लागि निवेदन दिएका परीक्षार्थीहरूको नतिजा प्रकाशित गरेको हो ।

परिवर्तित ग्रेडसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १० (दश) दिन पश्चात सक्कल ग्रेडसिटसहित कार्यालयमा सम्पर्क गर्न बोर्डले अनुरोध गरेको छ । पुनर्योगको नतिजामाथि चित्त नबुझी उत्तर पुस्तिका हेर्न चाहने परीक्षार्थीहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र निवेदन दिन अनुरोध गरेको छ ।