राजनीति

प्रत्यक्ष उम्मेदवारीमा महिलालाई कम प्राथमिकता



काठमाडौँ, ३० असोज । राजनीतिक दलहरूले महिलालाई प्रत्यक्षतर्फको चुनाव लडाउन त्यति रुचि देखाउँदैनन् । जसका कारण चुनावी मैदानमा महिलाको संख्या निकै कम हुने गर्छ । दलहरूले महिलालाई नपत्याउँदा मंसिर ४ गते हुने निर्वाचनका लागि पुरुषको तुलनामा निकै थोरै महिला मात्र चुनावी मैदानमा उत्रिएका छन् ।

ठुला भनिएका राजनीतिक दलले महिलालाई समानुपातिकमा सीमित गरिदिएका छन् । चुनावी परिणाम आफ्नो पक्षमा पार्न गठबन्धन गरेका दलले महिलालाई प्रत्यक्ष चुनाव लड्ने अवसर दिन नचाहेको देखिन्छ । जसका कारण प्रत्यक्षतर्फ चुनाव लड्न चाहँदाचाहँदै पनि टिकटबाट वञ्चित हुनुपरेको गुनासो महिलाहरूले गर्ने गरेका छन् । मंसिरमा हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ जम्मा उम्मेदवार संख्या २ हजार ४१२ रहेको छ । तीमध्ये २२५ जना महिला मात्र प्रत्यक्षतर्फ उम्मेदवार छन् । चुनाव जित्दै आएका दलबाट समेत महिला उम्मेदवार निकै कम छन् ।

ठुला दलमध्येबाट सबैभन्दा धेरै महिलालाई चुनावी मैदानमा पठाउने दल नेकपा एमाले बनेको छ । एमालेले १४१ उम्मेदवारलाई चुनावी मैदानमा पठाएको छ । तीमध्ये ११ जना महिला छन् । विभिन्न साना दलबाट १०० भन्दा बढी महिला उम्मेदवार चुनाव भिड्दैछन् । त्यसैगरी स्वतन्त्र रूपमा उम्मेदवारी दिने महिला ७७ जना छन् । सबैभन्दा धेरै काठमाडौंबाट १७ जना महिला स्वतन्त्र उम्मेदवार छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।