राजनीति

नेपाली काँग्रेससहितको सता गठबन्धनले मलाई कुनै असर पर्दैन : पूर्वमन्त्री बस्नेत



भक्तपुर, ३० असोज । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभा सांसद महेश बस्नेतले आगामी मंसिर ४ गतेको निर्वाचन पछि एमालेको नेतृत्वमा बन्ने सरकारमा भक्तपुरको जनप्रतितनिधिले सिंहदरवारको नेतृत्व गर्ने उद्घोष गर्नुभएको छ ।

एमाले निकट प्रेस चौतारी नेपाल जिल्ला कमिटी भक्तपुरले आज आयोजना गरेको नेकपा एमालेका उम्मेदवारसँग सञ्चारकर्मी विषयक कार्यक्रममा बोल्दै नेता बस्नेतले विगतमा भक्तपुरलाई सिंहदरवारले नचिनेता पनि जिल्लामा एमालेको नेतृत्व आएपछि सिंहदरवारको केन्द्र भक्तपुर बनेको दावी गर्नुभयो । एमालेका अध्यक्ष केपी शर्मा ओली तथा आफु समेत भक्तपुरकै भएको उल्लेख गर्दै उहाँले केपी ओलीले गर्ने सिंहदरवारको नेतृत्वमा आफ्नो समेत महत्वपूर्ण नेतृत्व हुने संकेत गर्नुभयो । सिंहदरवारको नेतृत्व मात्र नभई एमालेको राष्ट्रिय राजनीतिमा समेत आगामी भक्तपुरको महत्वपूर्ण नेतृत्व रहने उल्लने गर्दै उहाँले आफ्नो नेतृत्व भक्तपुरमा आएसँगै विकासले सिंहदरवार खोज्नुपर्ने अवस्थाको अन्त्य गरी सिंहदरवारले विकासको लागि भक्तपुरलाई खोज्ने अवस्था बनाएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘हिजोका एमाले बाहेकका नेतृत्वहरुले जिल्लामा निर्वाचित भइरहँदा भक्तपुरको आवाज सिंहदरवार तथा संसदमा पुग्न सकेको थिएन । तर आफु निर्वाचित भएपछि भक्तपुरको आवाजलाई बुलन्द बनाएको छु । भक्तपुरको मात्र नभई समग्र नेपालको वस्तुस्थिती र आवश्यकतालाई सदन प्रस्तुत आफुले गरिरहेको छु ।’

भक्तपुरको मध्यपुर थिमि, चाँगुनारायण, सूर्यविनायक प्रदेशमा पनि सजिलै जित्ने दावी गर्नुयभो । एमाले भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहनुभएका नेता बस्नेतले आफू विजयी भएमा भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्लाको रुपमा विकास गर्ने बताउनुभयो । भक्तपुरमा काम गर्दा एकपैसा पनि घुस दिन नपर्ने गरी सिंगो भक्तपुरलाई नै भ्रष्टाचारमुक्त जिल्ला बनाउने अभियान आफु र एमालेको नेतृत्वमा भइरहेको उल्लेख गर्दै एमालेको पाँच वर्षे कार्यकाललाई नै मूल्याङ्कन गरी जनताले पुनः एमालेलाई गठबन्धनभन्दा तेब्बर मतले विजयी गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको नेपाली काँग्रेससहितको सता गठबन्धनले आफूलाई कुनै असर पर्दैन । गबन्धन नेताहरुबीच मात्रै छ, कार्यकर्ताबीचमा कुनै गठबन्धन छैन । हामी उही कार्यकर्ताहरुलाई भेटिरहेका छौं र उनीहरु हामीप्रति सकारात्मक छन् ।’

आफूले भक्तपुर क्षेत्र नं २ मा विकासको लहर ल्याएको उल्लेख गर्दै उहाँले कांग्रेसको नेतृत्वमा बनेको गठबन्धन सरकार त्यसलाई रोकको भन्दै आक्रोस जनाउनुभयो । यही कारण आफनो मत अझ बढने दावी गर्दै उहाँले आफूले भक्तपुरका लागि छुटाएको बजेट कांग्रेस सरकारमा पुगेपछि ती सबै काटेको उदाहरण सहित प्रस्तुत गर्नुभयो । आफ्नो विकासको अपुरा कामलाई पूरा गराउन आफ्नो जित आवश्यक भएको उल्लेख गर्दै उहाँले भक्तपुरमा स्मार्ट सिटी, सभागृह, सूर्यविनायक धुलीखेल सडकको स्तरउन्नती, बैकल्पिक सडकहरु निर्माण गर्ने, प्राणी उद्यान केन्द्र, रंगशाला बनाउनेलगायतका कामलाई पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा सो पार्टीबाट उम्मेदवार बनेका प्रतिनिधि सभा भक्तपुर क्षेत्र नं १ का उम्मेदवार नवराज गेलाल तथा प्रदेश सभाका उम्मेदवारहरु किरण थापा, चन्दनकृष्ण श्रेष्ठ, माहनवीर श्रेष्ठ, नारायण सुन्दर सिन्तकलाले पनि आ-आफनो धारणा राख्नुभएको थियो ।