विश्व

कारागारमा आगलागी हुँदा ४ को मृत्यु, ६१ घाइते



एजेन्सी, ३१ असोज । इरानको ‘कुख्यात’ कारागार एभिनमा शनिबार भीषण आगलागी हुँदा चारजनाको मृत्यु भएको छ । राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकलाई थुन्ने गरिएको उत्तः कारागारमा आगलागी हुँदा ६१ जना घाइते भएका छन् ।

पछिल्लो समय इरानमा नागरिकले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् । गएको महिना प्रहरी हिरासतमा २२ वर्षीया कुर्दिस इरानी महिला माहसा आमिनीको मृत्यु भएपछि पहिलोपटक त्यस्तो विरोध सुरु भएको थियो ।

सरकारी अधिकारीहरूले हृदयाघातका कारण उनको मृत्यु भएको बताएका थिए । माहसाका आफन्तले भने नैतिकता कायम गर्न खटाइएका प्रहरीको पिटाइबाट उनको मृत्यु भएको दाबी गरेका थिए ।

बीबीसी पर्सियाका लागि पत्रकार राना रहिमपुरले कारागारको घटना प्रदर्शनसँग सम्बन्धित रहे÷नरहेको स्पष्ट नभएको बताएका छन् । विरोध प्रदर्शनका क्रममा समातिएका सयौँ व्यक्ति त्यहाँ थुनिएकाले सो सम्भावना पनि नकार्न नसकिने उनले बताएका छन् । सरकारी सञ्चारमाध्यम इर्नाले भने आगलागीसँग प्रदर्शनको कुनै सम्बन्ध नरहेको उल्लेख गरेको छ । घटनामा आपराधिक तत्त्वको हात रहेको र आठजना जलेर घाइते भएको जनाएको छ । बीबीसी