काठमाडौं, ४ कात्तिक । तिहार लगत्तै सार्वजनिक नेकपा एमालेको घोषणापत्रमा जनस्तरबाट सुझाव आएको छ । अबको एक महिनामा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि एमालेले पाँच वर्षभित्र गर्न सकिने योजना सार्वजनिक गर्न लागेको हो । त्यसका लागि एमालेले जनस्तरबाट सुझाव माग गरेको थियो । घोषणापत्रका लागि जनस्तर र विज्ञबाट आएका सुझावलाई एमालेले संकलन, अध्ययन गरेर प्रतिवेदन लेख्ने काम गरिरहेको छ ।
पार्टी घोषणापत्र मस्यौदा समितिकी सदस्य तथा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार जनस्तरबाट पनि सामान्य आधारभूत आवश्यकता सम्बन्धी सुझाव आएका छन् । जनस्तरबाट दैनिकी जनजीविकाका सवाल आएको शाक्यले बताउनुभयो । उहाँले दीर्घकालीन आयोजना सुझावमा नआएको भन्दै एमालेले यसअघि २०७४ सालको निर्वाचनमा रेल, पानीजहाज, घर–घरमा पाइपलाइनबाट ग्यास, नेपालको आफ्नै पानीजहाजका आयोजना घोषणापत्रमा समेटिएपछि विरोध भएको बताउनुभयो ।
यो पटक सुझावमा त्यस्ता विषय नसमेट्न पनि सुझाव आएको एमालेले जनाएको छ । दीर्घकालीन योजनाभन्दा पनि पाँच वर्षभित्र गर्न सकिने योजनामात्रै घोषणापत्रमा समेट्न सुझाव आएको उपाध्यक्ष शाक्यले बताउनुभयो । उहाँका अनुसार शिक्षा, स्वास्थ्य, बाटो, पुल जस्ता विषयलाई घोषणापत्रमा समेट्न सुझाव आएका छन् । सबैभन्दा बढी राजनीतिक स्थिरताको विषय आएको छ । अन्तिम चरणमा पुगेको एमालेको घोषणापत्र तयारीमा समृद्धि विकासको विषय पनि आएको छ ।










प्रतिक्रिया दिनुहोस्