काठमाडौँ, ५ कार्तिक । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीबाट कम्तीमा ३ सय ८५ जनालाई हटाउने भएको छ ।
पालिका चुनावमा उम्मेदवार भएर हिजोसम्म खर्चको विवरण नबुझाएका उम्मेदवारको नाम हटाउन लागेको आयोगलेजनाएको छ । त्यस्तै हिजोसम्म जरिबाना नतिर्नेको नाम बन्दसूचीबाट हटाइने भएको छ ।
दलले बुझाएको बन्दसूचीको क्रमसङ्ख्याको अगाडि नै नाम भएकाले जरिबाना तिरे पनि अन्तिमतिर भएकाले नतिरेका आयोगले जनाएको छ । पालिका चुनावमा उम्मेदवार बनेका व्यक्तिले तोकिएको अवधिभित्र खर्च नबुझाएका कारण गएको भदौ ३१ गते आयोगले १ लाख २३ हजार ६ सय २४ जनालाई जरिबाना गरेको थियो । त्यसमध्ये ४ मंसिरको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ ७१ र समानुपातिकतर्फ ४ सय ३९ जना उम्मेदवार बनेका थिए ।
प्रत्यक्षतर्फको यसअघि नै बुझाइसकेको भए पनि समानुपातिकको जरिबाना तिर्ने समय हिजोसम्म थियो । यो अवधिमा ५४ जनाले मात्रै जरिबाना बुझाएका विवरण आएको छ ।










प्रतिक्रिया दिनुहोस्