Banner News

देशमा विकास हुन थालेपछि मेरो नेतृत्वको सरकार ढालियोः ओली



झापा, १४ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार नालायक, भ्रष्ट, खन्चुवा र लुटेरा भएको बताउनु भएको छ । झापामा आज आयोजित मतदातासँगको भेटमा अध्यक्ष ओलीले गठबन्धन सरकारले देशको ढुकुकी लुटेको तथ्य राख्नुभएको हो ।

अहिलेको सरकारदेखि विश्व नै लज्जित भएको भन्दै उहाँले गठबन्धनलाई कुनै लाज नभएको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘संसद्ले नभएर सेटिङमा बनेको सरकार, असंवैधानिक सरकार, परमादेशबाट बनेको नालायक, भ्रष्ट, खन्चुवा, लुटेरा सरकार बनेको छ । केही व्यक्ति बोलाएर अर्थमन्त्रीले करका दर हेरफेर गर्छ । देशको ढुकुटीमा योभन्दा ठुलो लुट अरू के हुन्छ रु यो सरकार देखेर विश्व लज्जित छ, तर गठबन्धनलाई कुनै लाज छैन ।’

उहाँले आफू नेतृत्वको एमाले सरकारले धेरै विकासका काम गरेको फेहरिस्त पनि सुनाउनु भयो । आफू नेतृत्वको सरकारले गरेका ठुला विकासका काम देखेर एमालेको सरकार ढालेको पनि उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले धेरै काम गर्यौं । पाइपलाइनबाट पेट्रोल ल्यायौँ । अब भारतले नाका बन्द गरेपनि पेट्रोल आउँछ । हामीले तीन वर्षमा मेलम्चीको पानी काठमाडौं ल्यायौँ । तेस्रो अरुण जलविद्युतको सुरुवात गर्यौं । तामाकोसीबाट विद्युत उत्पादन गरेर लोडसेडिङको अन्त्य गर्यौं । मैले विकास गर्न थालेपछि मेरो नेतृत्वको सरकार ढाल्यो ।’