काठमाडौं, १५ जेठ । नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय अघिल्लो वर्षभन्दा करिब ११ हजार रुपैयाँले बढेको छ भने ऋण करिब ४ सय रूपैयाले घटेको छ ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७३-७४ को सरकारको प्रगति विवरण संसद्मा पेश गर्दै नेपालीको प्रतिव्यक्ति आय ९१ हजार ४ सय ८८ रुपैयाँ पुगेको बताएका छन् ।
अघिल्लो आवमा प्रतिव्यक्ति आय ८० हजार ५ सय २५ रुपैयाँ थियो । अमेरिकी डलरमा भने २०७२र७३ मा यस्तो आय ७५७ डलर थियो भने चालू आवमा १०५ डलर बढेर ८ सय ६२ डलर भएको उनले जानकारी दिए । सर्वेक्षणअनुसार विगत १५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय ४ गुणाले बढेको छ ।
प्रतिनेपाली आन्तरिक र वैदेशिक ऋण अघिल्लो आवभन्दा ४ सय १० रुपैयाँले घटेको छ । सर्वेक्षणअनुसार प्रत्येक नेपालीको भागमा अहिले २१ हजार ७ सय ४९ रुपैयाँ ऋण छ । अघिल्लो वर्ष यस्तो ऋण २२ हजार १ सय ५९ रुपैयाँ थियो ।
हाल नेपालले विदेशी निकायसँग लिएको ऋण ३ खर्ब ९१ अर्ब रुपैयाँ छ भने आन्तरिक ऋण २ खर्ब ३३ अर्ब छ । पछिल्ला वर्षहरूमा सरकारले लगातार ऋण तिरेको कारण प्रतिव्यक्ति ऋणको अनुपात घटेको हो ।
महराले नेपालको अर्थतन्त्रको आकार विस्तारको हिसाबले ऋणको अनुपात भने घट्दै गएको बताए । यस्तै चालू आवको ८ महिनासम्ममा २ खर्ब १२ अर्ब ४ करोड वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको भन्दै उनले वैदेशिक सहायता ३५।७६ प्रतिशतले बढेको बताए ।
फागुनसम्म सार्वजनिक ऋण ६ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ रहेको र त्यसमध्ये आन्तरिक र बाह्य ऋण अनुपात क्रमशः ३८।१ र ६१।९ प्रतिशत रहेको बताए । आव २०७३÷०७४ को कुल गार्हस्थ्य उत्पादनसँग कुल सार्वजनिक ऋणको अनुपात २४।१ प्रतिशत छ । कारोबारमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्