विश्व

‘भेरिफाइड’ ट्विटर अकाउन्ट चलाउनेले मासिक आठ डलर तिर्नुपर्ने



एजेन्सी, १६ कार्तिक । सामाजिक सञ्जाल ट्विटरको नीलो टिकसहित प्रमाणित् अर्थात् ‘भेरिफाइड’ अकाउन्ट चलाउनेले अब मासिक आठ डलर तिर्नुपर्ने भएको छ ।

ट्विटरका नयाँ मालिक एलन मस्कले नीलो टिकसहितको प्रमाणित अकाउन्ट हुने र अबका दिनमा निलो टिक पाउनेले मासिक ८ डलरको शुल्क लगाउने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । शुल्क तिर्ने प्रयोगकर्तालाई सेवामा पनि प्राथमिकता हुने उनको भनाइ छ ।

मुख्य गरी शीर्ष नेताहरु, कलाकार, ब्यापारी, पत्रकारलगायतले एउटा संक्षिप्त अनलाइन फारम भरेर केही प्रक्रिया पूरा गरी नामको पछाडि नीलो टिकसहितको अकाउन्ट प्रयोग गर्दै आएका छन् । अहिलेसम्म यो सेवा निःशुल्क थियो । ट्विटरले विज्ञापनमा निर्भरता कम गर्न चाहेको पनि मस्कको दाबी छ ।