Banner News

मुख्य निर्वाचन अधिकृत शौचालय गएको समयमा चितवनमा च्यातियो मतपत्र



चितवन, १५ जेठ । स्थानीय तहको निर्वाचनपिछ भरतपुर महानगरपालिकाको मत गणना भइरहदाँ मध्यराती मतपत्र च्यातिएको छ । मतपत्र च्यातिएपछि अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको छ ।

मध्येराति ११ः४४ बजे दलका प्रतिनिधिले मतपत्र च्यातेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना टाँस गरी अर्को सूचना जारी नभएसम्मका लागि मतगणना स्थगित गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आफू शौचालय गएर फर्कदै गर्दा मतपत्र च्यातिएको र त्यसपछि विवाद बढेको भन्दै अनिश्चितकालका लागि गणना स्थगित गरिएको बताए ।

मतपत्र च्यातेको भन्दै चितवन वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपाने र मतगणनामा बसेका माओवादी प्रतिनिधि द्रोण सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एमाले मेयरका उम्मेदवार देबी ज्ञवालीले भरतपुर महानगरपालिकामा माओवादी हार्ने निश्चित भएपछि योजनाबद्ध ढंगले मतपत्र च्यातिएको दाबी गरेका छन् ।