डडेलधुरा, १८ कार्तिक । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नरहेको बताएका छन् ।
आज बिहान डडेलधुराका सञ्चारकर्मीसँग प्रधानमन्त्री देउवाले अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नरहेको बताए । “यो समावेशी संविधान हो । यसमा सबै जाती, जनजाती मिलाएर अगाडि बढ्न आवश्यक छ । त्यसैले सबै पार्टीले मिलेर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो,” उनले भने । देउवाले मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी हुनेमा भने शंका नगर्न आग्रह गरे ।
उनले पाँच दलीय गठबन्धन अझै १० देखि १५ वर्षसम्म लम्बिने बताएका छन् । दोस्रो चरणको चुनावी अभियानअन्तर्गत डडेलधुरामा पहिलो चुनावी सभालाई सम्बोधन गर्दै देउवाले समृद्धि र आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएकाले गठबन्धन १० देखि १५ वर्षसम्म गर्नु पर्ने जिकिर गरे । “राजनैतिक पद्धति र विकासलाई संस्थागत रुपमा विकास गर्न पनि गठबन्धन आवश्यक छ,” उनले भनेका थिए ।










प्रतिक्रिया दिनुहोस्