राजनीति

सेतोपाटीलाई समाचार हटाउन दिएको निर्देशन आयोगद्वारा फिर्ता



काठमाडौँ, २१ कार्तिक । सेतोपाटी अनलाइन मिडियामा प्रकाशित एउटा समाचार २४ घन्टाभित्र हटाउन र स्पष्टीकरण दिन निर्वाचन आयोगले शनिबार लेखेको पत्र भोलिपल्टै फिर्ता लिएको छ ।

आइतबार बेलुकी विज्ञप्ति जारी गरी आयोगले आफ्नो आमसञ्चार नीति र मान्यताभन्दा फरक हुने गरी प्राविधिक कारणवश सेतोपाटीलाई पत्र गएको भन्दै उक्त फिर्ता लिएको विज्ञप्तिमार्फत नै जनाएको छ ।

आयोगको विज्ञप्तिमा भनिएको छ, “आयोगको आमसञ्चार माध्यमप्रतिको नीति र मान्यताभन्दा फरक हुने गरी यहाँ (अमित ढकाल) प्रधानसम्पादक रहेको सञ्चारमाध्यम (सेतोपाटी) बाट प्रकाशित समाचारको विषयलाई लिएर प्राविधिक कारणले यहाँलाई प्रेषित हुन गएको स्पष्ट गर्ने विषयको पत्र यसै पत्रमार्फत फिर्ता लिइएको बेहोरा आदेशानुसार सादर अनुरोध छ।”