शैक्षिक

२० वटा स्कुल बस कारबाहीमा



काठमाडौँ, २२ कार्तिक । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट २० वटा स्कुल बस नियन्त्रणमा लिएर मापदण्ड पूरा गर्ने सर्तमा छोडेको छ । स्कुल बस निर्देशिका–२०७४ अनुसार सञ्चालन नगर्ने २० वटा स्कुल बस नियन्त्रणमा लिएर १५ दिनभित्र मापदण्ड पूरा गर्ने गरी छाडिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जाँचका क्रममा हिजो स्कुल बस निर्देशिका अनुसार सञ्चालन नगरेका २० वटालाई नियन्त्रणमा लिएको थियो । सवारी चालक अनुमतिपत्र नभएको, बसको झ्यालमा डण्डी नराख्ने, कागजपत्र साथमा नराख्ने र ट्राफिक नियम उल्लङ्घन गरेका स्कुल बसलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । विद्यार्थीको सुरक्षाका लागि स्कुल बस निर्देशिका अनुसार गाडी सञ्चालन गर्न पनि ट्राफिक प्रहरीको आग्रह छ ।