राजनीति

निर्वाचनको भीडभाडले नयाँ भेरियन्ट फैलिने खतरा, सावधानी अपनाउन आग्रह



काठमाडौँ, २२ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचन केन्द्रित कार्यक्रमहरुमा भीडभाड गर्दा कोभिड–१९ को संक्रमण दर बढ्नसक्ने बताए । उनले देशमा कोभिड संक्रमण दर धेरै नभएपनि संक्रमणको अवस्था भने यथावत रहेको उल्लेख गरे । उनले भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरु पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानि अपनाउनु जरुरी रहेको बताए । डा. अधिकारीले कोभिड १९ बिरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई भीडभाड हुने ठाउँमा नजान पनि आग्रह गरे ।

उनले भने, ‘ठूलो मात्रामा मानिसहरु एक ठाउँ भीडभाड हुनु भनेको सामान्य अवस्थामा पनि जनस्वास्थ्यका हिसावले जोखिमपूर्ण नै मान्छौँ । त्यसमा एउटा मानिसमा भएको कुनैपनि किसिमको संक्रमण अरु मानिसमा थप जानसक्छ । त्यसले गुणात्मक रुपमा वृद्धि भएर धेरै मानिसलाई प्रभाव पार्नसक्छ भन्ने हिसावले हामीले धेरै मानिसको भीडभाड हुने कुराहरुलाई जनस्वास्थ्यको हिसावले निकै ठूलो चासोको रुपमा लिइन्छ र निगरानी गरिन्छ । अझ कोभिड १९ को महामारी हामीले भोगेको अवस्था र हामीसँग संक्रमण अहिले पनि रहिराखेको अवस्था छ, विश्वका विभिन्न ठाउँहरुमा नयाँ भेरियन्टहरु देखिराख्ने अवस्था सबै अवस्थालाई हेर्दाखेरी हाम्रो भीडभाड हुने गतिविधिहरुलाई हामीले एकदमै सावधानीका साथ अगाडी लिएर जानुपर्छ । जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नसक्ने, ख्याल गर्न सकिने ठाउँहरुमा विशेष रुपमा ख्याल गर्नुपर्ने हुन्छ । कोभिडको कुरा मात्रै भएन, अरु किसिमका संक्रमण पनि कसैलाई छन् भने, रुघाखोकी पनि कसैलाई छन् भने थप धेरै मानिसहरुलाई हुनसक्छ । धेरै मानिसहरु बिरामी हुनसक्ने अवस्थाहरु हुनसक्छ । ती सबै कुराहरुलाई मध्यनजर गरेर हामीले मास्कको प्रयोग गर्नुपर्छ, त्यस्ता भीडभाडहरुमा जानुपर्ने अवस्था आउँदा । सकेसम्म नजाने । कोभिड १९ बिरुद्धको खोप नलगाएका व्यक्तिहरु सकेसम्म त्यसरी ननिस्किने । खोप अनिवार्य रुपमा लगाउने । पूर्ण मात्रा लगाइसकेको तीन महिना कटिसकेको छ भने त्यस्ता व्यक्तिहरुले समयमै एक अतिरिक्त मात्रा बुस्टर मात्राको रुपमा लगाउनुपर्ने हुन्छ ।

हातको सरसफाईमा विशेष ध्यान दिने । शरीर र लत्ता कपडाहरुको सरसफाईमा विशेष रुपमा ध्यान दिने ग¥यौँ भने सबै किसिमका संक्रामक रोगहरु छन् जुन भीडभाडबाट जोखिमपूर्ण हुनसक्छन् त्यसलाई नियन्त्रण गर्नसक्छौँ ।’ उनले विश्वव्यापी रुपमा कोभिड १९ को संक्रमण घटेको बताए । देशमा पनि विगतको भन्दा सहज अवस्था रहेको उनको भनाइ छ । तरपनि संक्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनका कारण सावधानि अपनाउनुपर्ने उनले स्पष्ट पारे । डा. अधिकारीका अनुसार अहिलेसम्म ६ करोड भन्दा बढी मात्रा खोप नेपालले प्राप्त गरेको छ । जसमध्ये साढे ५ करोड मात्रा खोप लगाइसकिएको तथ्यांक छ । उनले खोप लगाउने लक्षित जनसंख्या २ करोड ३३ लाख भन्दा बढी रहेकोमा त्यसमध्ये शतप्रतिशतले एक मात्रा खोप लगाएको र ९६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको बताए । उनले ८० लाख बुस्टर मात्राको प्रयोग भएको पनि बताए । न्युज एजेन्सी नेपाल