विश्व

कुवेतमा अलपत्र सात कामदारको उद्धार



काठमाडौँ, २५ कार्तिक । वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।

नेपालबाट कामदार भिसामा कुवेत गएका उनीहरूलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । अलपत्र परेका उनीहरूलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वदेश ल्याइएको हो ।

सम्झौताअनुसार तलब र सेवा सुविधा नपाएका उनीहरूलाई कुवेतस्थित रोजगारदाता कम्पनी ग्लोबल टाइम्स कुवेत र कुवेतस्थित नेपाली दूतावासमा पटक–पटक ताकेता गर्दा पनि पहल हुन नसकेको धर्म ओभरसिजले जनाएको छ ।

सातैजनालाई हाल चाबहिलस्थित पासा होटलमा राखिएको छ । सम्बन्धित मेनपावरले उनीहरूको पैसा फिर्ता गरेपछि आफन्तको जिम्मा लगाइने बताइएको छ । रासस